यूनाइटेड मिसन अस्पताल तानसेन कर्मचारी संगठन समितिको अध्यक्षमा बि.सी. निर्वाचित
पाल्पा- यूनाइटेड मिसन अस्पताल तानसेन कर्मचारी संगठन समितिको उप–निर्वाचन २०८३ सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्ष पदमा दीपक कुमार बि.सी. निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक गणेश प्रसाद घिमिरेले जानकारी दिनुभयो । उप–निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन भएसँगै अस्पतालमा कार्यरत कर्मचारीहरूको हकहित संरक्षण, व्यावसायिक क्षमता अभिवृद्धि तथा कर्मचारी र व्यवस्थापनबीच समन्वयकारी भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. अमृता पाण्डेय, सचिवमा लक्ष्मण ज्ञवाली तथा कोषाध्यक्षमा खुमबहादुर सारू निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा कृपाराम विक, नेत्र श्रीस, अभिषेक सिंह खड्का, इच्छा खाती, दिलमाया गोतामे, दिनेश खत्री र देवराज डाँगी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अस्पतालका कर्मचारीहरूको सक्रिय सहभागिताबीच सम्पन्न निर्वाचनले संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष दीपक कुमार बि.सी.ले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गर्दै संगठनलाई सबै कर्मचारीको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले कर्मचारीहरूको पेशागत हकहित, सेवा–सुविधा, क्षमता विकास, पारस्परिक एकता तथा अस्पतालको समग्र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गरिने बताउनुभ यो। साथै संगठनलाई पारदर्शी, उत्तरदायी र सक्रिय बनाउँदै सबै सदस्यको सुझाव र सहकार्यलाई प्राथमिकताका साथ अघि बढाइने उहाँको भनाइ थियो । कार्यक्रममा अस्पताल नि अस्पताल निर्देशक डाक्टर तुल बहादुर पुनले निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण उम्मेदवार, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिले संगठनको गरिमा अभिवृद्धि गर्दै कर्मचारीहरूको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।









































Comments