ऐतिहासिक भगवती जात्राका लागि उपसमिति गठन, भदौ २० गते रथयात्रा निकालिँदै !

पाल्पा — पश्चिमाञ्चलकै ठूलो तथा राष्ट्रिय स्वाभिमानसँग जोडिएको ऐतिहासिक भगवती जात्राअन्तर्गत आज पाल्पामा भगवतीको रथयात्रा निकालिँदैछ। नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको सम्झनामा विजयोत्सवका रूपमा मनाइँदै आएको भगवती जात्रा यस वर्ष भदौ २० गते भव्य रूपमा आयोजना हुँदैछ । भगवती जात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न अशोक कुमार महर्जनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । जात्राको व्यवस्थापनका लागि रुट तथा स्वयंसेवक, प्रसाद सामग्री, आर्थिक सङ्कलन, प्रचार–प्रसार तथा जनसम्पर्क, भजन, श्रद्धालु तथा अतिथि स्वागत, पूजा सामग्री, संघ–संस्था झाँकी तथा र्याली, बलि सामग्री, पञ्चबाजा तथा धिमेबाजा, रथ बोक्ने जनशक्ति तथा मन्दिर परिसर सरसफाइ र रंगरोगनलगायतका विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।

 

गठन गरिएका उपसमितिहरूमध्ये रुट तथा स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजन भगवती युवा क्लबका सुरेन्द्र मान कर्माचार्य र सुनिल मान कर्मचार्यप्रसाद सामग्री व्यवस्थापन उपसमितिको संयोजन राजन श्रेष्ठ र दीपेन्द्र प्रसाद बज्राचार्यलेगर्नेछन्। त्यसैगरी आर्थिक सङ्कलन व्यवस्थापनमा सोनीत प्रधान, करन चित्रकार र सुवर्ण मुनि शाक्य, तथा प्रचार–प्रसार तथा जनसम्पर्क व्यवस्थापनमा प्रणय विरजंग राणा र करन चित्रकार रहेका छन । 

 

त्यस्तै, भजन व्यवस्थापन उपसमितिमा ज्ञान कुमार बज्राचार्य, मंगल प्रसाद बज्राचार्य र सुरेन्द्र राजलवतश्रद्धालु भक्तजन तथा अतिथि स्वागत सत्कार व्यवस्थापनमा सुवर्ण मुनि शाक्यसहित तुम्ला बज्राचार्य, सुशीला श्रेष्ठ, शान्त श्रेष्ठ, रञ्जना थापा अर्याल र मन्जु रेग्मी रहेका छन्। पूजा सामग्री व्यवस्थापनमा मूल पुजारी हिक्मत बहादुर बज्राचार्य, योगेन्द्र बहादुर बज्राचार्य र केदार लाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

 

त्यसैगरी संघ–संस्था झाँकी तथा र्याली व्यवस्थापनमा पल्लव केसी, महेश लाल शाक्य, शान्ति झेडी र सुशीला गाहाबलि सामग्री व्यवस्थापनमा पुरन महर्जन र रमेश बज्राचार्य, तथा पञ्चबाजा, धिमेबाजा तथा रथ बोक्ने जनशक्ति व्यवस्थापनमा बाबु रत्न शाक्य र पल्लव केसी रहेका छन्। मन्दिर परिसर सरसफाइ तथा रंगरोगन व्यवस्थापनको जिम्मेवारी सुरेश प्रसाद लिगल र बसन्त मान सिमाङ्गैडालाई दिइएको छ । भगवती जात्रा पाल्पाको धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई नेपालको राष्ट्रिय स्वाभिमान र अंग्रेजविरुद्धको ऐतिहासिक विजयसँग जोडिएको महत्वपूर्ण उत्सव हो । पाल्पाली प्रशासक तथा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा विसं १८७१ पुसदेखि १८७२ जेठसम्म अंग्रेज सेनासँग युद्ध भएको थियो । सो क्रममा बुटवलको जितगढीलगायतका क्षेत्रमा नेपाली सेनाले अंग्रेज फौजलाई पराजित गरेको इतिहास छ । 

 

त्यतिबेला नेपाली सेनासँग घरेलु हातहतियार तथा सीमित सैन्य स्रोतसाधन भए पनि अंग्रेज सेनाको आक्रमण रोक्न उजिरसिंह थापाले महत्वपूर्ण नेतृत्व गरेका थिए। बुटवलतर्फ युद्धमा जानुअघि उहाले तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर युद्धमा विजय प्राप्त भए मन्दिर निर्माण गरी सिन्दूरजात्रा गर्ने र भगवतीको महिमा चारैतर्फ फैलाउने भाकल गरेको जनविश्वास छ । अंग्रेज सेनासँगको युद्धमा दुईपटकसम्म विजय हासिल गरेपछि कर्णेल उजिरसिंह थापाले विसं १८७२ देखि १८७६ सम्म गजुरसहितको तीनतले भगवती मन्दिर निर्माण गरेको इतिहास पाइन्छ। त्यसपछि विसं १८७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीका दिन विजयोत्सवका रूपमा भगवती जात्रा निकालिँदै आएको छ । 

Comments