गणेश जात्रालाई लक्षित गर्दै रणउजिरेश्वरी भगवती युवा क्लबद्वारा सरसफाइ अभियान
पाल्पाको तानसेनस्थित श्रीनगर गणेश मन्दिर परिसरमा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबले सरसफाइ अभियान सञ्चालन गरेको छ। भदौ १५ गते हुने ऐतिहासिक गणेश जात्रा तथा त्यसको अघिल्लो दिन आयोजना हुने जाग्रामलाई लक्षित गर्दै क्लबले मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गरेको हो। धार्मिक तथा सांस्कृतिक पर्वका अवसरमा मन्दिर परिसरमा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालुहरूको आवागमन हुने भएकाले स्वच्छ, सफा र व्यवस्थित वातावरण निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।
क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार गणेश जात्रा तथा जाग्राममा भक्तजनको उल्लेख्य सहभागिता रहने भएकाले जात्रा सुरु हुनुअघि नै मन्दिर परिसरको सरसफाइ तथा आवश्यक व्यवस्थापनलाई प्राथमिकता दिइएको हो। उहाँले धार्मिक तथा सांस्कृतिक पर्वलाई सभ्य, व्यवस्थित र वातावरणमैत्री बनाउन स्थानीय समुदाय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न समयमा सरसफाइ तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने बताउनुभयो।
सरसफाइ अभियानमा नेपाली सेना, नेपाल प्रहरी तथा श्री ७ रणउजिरेश्वरी भगवती युवा क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले मन्दिर परिसर, प्रवेश तथा आवतजावत गर्ने बाटो, आसपासका खुला क्षेत्रलगायत स्थानमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए। सरसफाइ अभियानमा सहभागी श्रीनगर गणेश मन्दिरका गुठीयार हिमाल दत्त श्रेष्ठले धार्मिक तथा सांस्कृतिक पर्वको संरक्षणसँगै त्यससँग जोडिएका स्थलको स्वच्छता र व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले गणेश जात्रा पाल्पाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण जात्रा भएकाले यसको संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । कार्यक्रम संयोजक शम्भु आचार्यले गणेश जात्रा र अघिल्लो दिन हुने जाग्रामलाई व्यवस्थित बनाउन सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो ।









































Comments