मैत्री क्लब तानसेनको ४७ औँ वार्षिकोत्सवमा वृक्षरोपणसहित सामाजिक अभियान

पाल्पाको तानसेनमा रहेको मैत्री क्लबले आफ्नो ४७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । वार्षिकोत्सवका अवसरमा क्लबले तानसेन नगरपालिका–३, अपुभिलेजस्थित बौद्ध स्तूपा परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले स्तूपा परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको क्लबले जनाएको छ। वृक्षरोपण कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य, स्थानीयवासी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । 

 

कार्यक्रममा बोल्दै मैत्री क्लबका सल्लाहकार रिलरमान महर्जनले सामाजिक संस्थाको उद्देश्य केवल वार्षिकोत्सव मनाउनु मात्र नभई समाज र समुदायका लागि उपयोगी काम गर्नु रहेको बताउनुभयो । उहाँले वातावरण संरक्षणसँगै मानव सेवाका क्षेत्रमा क्लबले गर्दै आएको गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । वृक्षरोपण गरिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी पनि सबैले लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले मैत्री क्लबले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न रचनात्मक तथा सेवामूलक कार्यक्रम गर्दै आएको बताउँदै आगामी दिनमा पनि समुदायको आवश्यकता पहिचान गरी सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

 

मैत्री क्लबका अध्यक्ष पञ्च शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले वृक्षरोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी रोपिएका बिरुवाको नियमित संरक्षण र स्याहार गर्नुपर्ने बताउनुभएको थियो ।

क्लबले ४७औँ वार्षिकोत्सवको अवसरमा वृक्षरोपणसँगै विभिन्न सामाजिक सेवाका कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ। क्लबले तानसेनमा रहेको निलसागर सेवा आश्रममा भोजनदान कार्यक्रम आयोजना गरेको थियो। आश्रममा रहेका ज्येष्ठ नागरिक तथा आश्रितहरूलाई भोजन गराउँदै क्लबले मानव सेवाप्रतिको आफ्नो सामाजिक दायित्व निर्वाह गरेको जनाएको छ । 

 

त्यस्तै, क्लबले निशानधारा वरपर सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्रलाई स्वच्छ र व्यवस्थित राख्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको हो । क्लबले समुदायको सहभागितामा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। वृक्षरोपण कार्यक्रमको संयोजन अमृत कर्माचार्यले गर्नुभएको थियो। त्यसैगरी निलसागर सेवा आश्रममा भोजनदान कार्यक्रमको संयोजन सन्दिप लाल शाक्यले गर्नुभएको थियो भने निशानधारा वरपरको सरसफाइ कार्यक्रमको संयोजन प्रविन काजी शाक्यले गर्नुभएको थियो।

 

कार्यक्रम क्लबकी सचिव सुशीला शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो । क्लबका पदाधिकारी तथा सदस्यहरूले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाइ तथा मानव सेवाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

Comments