वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गर्दै तिनाउमा उद्यमशीलता तालिम शुरू !!

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै उद्यमशीलता विकास तालिम कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बैदेशिक रोजगारीका अवसरका लागि विदेशीएका र हाल स्वदेश फर्किएका युवा तथा श्रमिकहरूलाई उहाहरूले विदेशमा सिकेका सिपलाई अझ स्तरीकरण गर्ने तथा थप सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तालिमको उद्घाटन गर्नुहुँदै विदेश वा अन्य स्थानबाट फर्किएका व्यक्तिहरूलाई आफ्नै गाउँमा रोजगारी सिर्जना गर्न प्रेरित गर्न तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले स्थानीय स्रोत र साधनको उपयोग गर्दै साना तथा मझौला व्यवसाय सञ्चालन गर्न सकिने धारणा व्यक्त गर्दै गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष श्रेष्ठले सहभागीहरूलाई तालिमबाट हासिल गरिएका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । गाउँपालिकाले युवाहरूलाई स्वरोजगार तथा उद्यमशील बनाउन प्रत्येक वर्ष यस्ता सीपमूलक तालिमका लागि बजेट विनियोजन गर्दै आएको बताउनुभयो । तर बजेटको सुनिश्चितता हुँदाहुँदै पनि तालिम लिन इच्छुक युवाहरूको संख्या अपेक्षाकृत कम रहेको उहाँको भनाइ थियो । गाउँपालिकाले युवाहरूलाई उद्यमशील बनाउँदै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले विभिन्न तालिमहरू सञ्चालन गर्ने योजना अघि सारेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुन युवाहरूलाई आग्रह गर्नुभयो ।

 

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले तालिमले सहभागीहरूको सोच तथा क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्यमशीलता विकासले व्यक्तिगत आम्दानी वृद्धिका साथै समग्र पालिकाको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी सफल उधमी रूपमा अग्रसर हुन सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रशिक्षक उद्यमशीलता कमलले व्यवसाय सञ्चालनका आधारभूत सिद्धान्त, बजार व्यवस्थापन, लगानी योजना तथा जोखिम व्यवस्थापनका विषयमा सहजीकरण गरिरहनुभएको थियो ।

 

उक्त तालिममा हाल २० जना सहभागी रहेका छन्, जसमा विभिन्न पृष्ठभूमिबाट आएका युवाहरूको सहभागिता रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश शारूले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै बढी संख्यामा व्यक्तिहरूलाई समेट्ने योजना रहेको बताउनुभयो । यस कार्यक्रमले स्थानीय स्तरमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको उहाले बताउनुभयो । 

Comments