विश्व आदिवासी दिवस: आदिवासी समुदायका हक–अधिकार र समावेशी विकासमा जोड
पाल्पा -३२औँ विश्व आदिवासी दिवसको अवसरमा तानसेनमा शुभकामना आदान–प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् तानसेनको आयोजनामा तथा तानसेन नगरपालिकाको प्रायोजनमा सम्पन्न कार्यक्रममा आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, अधिकार र विकासमा उनीहरूको योगदानका विषयमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आदिवासी जनजाति समुदाय आदिकालदेखि नै आफ्नो भौगोलिक क्षेत्रमा संघर्ष गर्दै सभ्यता र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले कुनै पनि राष्ट्रको समग्र विकासमा आदिवासी जनजातिको योगदान अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्दै विगतका आदिवासी अभियन्ताहरूले पुर्याएको योगदानलाई सम्मान गर्दै उहाहरूको मार्गदर्शनलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। नगर प्रमुख श्रेष्ठले तानसेन नगरपालिकाले नीति तथा कार्यक्रममार्फत आदिवासी जनजातिको उत्थानका लागि विशेष बजेट व्यवस्था गरेको जानकारी दिँदै आदिवासी जनजाति लक्षित कार्यक्रमका लागि २९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिङ्जालीले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान नेपालको अमूल्य सम्पदा भएको बताउँदै संविधानले सुनिश्चित गरेका हक–अधिकारको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समावेशी विकास, समान अवसर र राज्यका सबै तहमा आदिवासी समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न स्थानीय सरकारले निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आदिवासी समुदायको ज्ञान, सीप, संस्कृति र प्राकृतिक स्रोत संरक्षणमा रहेको योगदानको सम्मान गर्दै उनीहरूको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका लागि नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, अन्तरसंवाद र सहकार्यबाट मात्र समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रिय आदिवासी महिला महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष तुलसा रानाले आदिवासी समुदायका मौलिक संस्कार, संस्कृति, परम्परा र जीवनशैलीलाई पर्यटनसँग जोडेर आर्थिक समृद्धिको आधार बनाउन सकिने बताउनुभयो। संविधानले आदिवासी जनजातिलाई विभिन्न अधिकार सुनिश्चित गरे पनि ती अधिकारको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राज्यका सबै निकायले त्यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा प्रमुख वक्ता विविधता मगरले नेपाल सरकारले प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्ने माग गर्दै इतिहासमा उहाँले पुर्याएको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने धारणा राख्नुभयो।
नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद् तानसेनका अध्यक्ष स्वस्तिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान तथा संवैधानिक अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य, स्थानीय तह तथा समुदायबीच सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमले विश्व आदिवासी दिवसको सन्देशलाई व्यवहारमा उतार्दै समावेशी विकास, सांस्कृतिक संरक्षण र अधिकारको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाउनुभएकाे छ ।









































Comments