उपाध्यक्षसँग विद्यालय कार्यक्रम : रिब्दीकोटमा अभिभावक शिक्षा तथा अभिभावक कला कार्यक्रम सम्पन्न
पाल्पा —रिब्दीकोट गाउँपालिकाको आयोजनामा “उपाध्यक्षसँग विद्यालय” कार्यक्रम अन्तर्गत अभिभावक शिक्षा तथा अभिभावक कला कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित उक्त कार्यक्रममा करिब ८० जना अभिभावक, शिक्षक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूलाई बालबालिकाको शिक्षा, व्यवहार तथा समग्र विकासप्रति जिम्मेवार र सचेत बनाउनु रहेको थियो। पछिल्लो समय बालबालिकाको व्यवहार, अध्ययनप्रति रुचि र सामाजिक आचरणमा देखिएका विभिन्न चुनौतीहरूलाई ध्यानमा राख्दै यस्तो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले अभिभावकहरूको सक्रिय भूमिका बिना बालबालिकाको समग्र विकास सम्भव नहुने बताउनुभयो । उहाँले घरलाई पहिलो पाठशालाका रूपमा व्याख्या गर्दै बालबालिकाले सिक्ने पहिलो ज्ञान र संस्कार परिवारबाट नै प्राप्त गर्ने उल्लेख गर्नुभयो । “विद्यालयले ज्ञान दिन्छ, तर संस्कार र अनुशासनको आधार घरबाटै सुरु हुन्छ,” उहाँले भन्नुभयो । अभिभावकहरूले आफ्ना सन्तानसँग नियमित संवाद गर्न, उनीहरूको समस्या बुझ्न र आवश्यक मार्गदर्शन गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो। साथै, बालबालिकाको प्रतिभा पहिचान गरी उनीहरूलाई सही दिशा दिन अभिभावकहरू सधैं सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, वडा नं. २ का वडा अध्यक्ष ओम प्रकाश पोखरेलले अभिभावक शिक्षा कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभिभावकहरूलाई आधुनिक प्रविधिको सही प्रयोग, बालबालिकाको समय व्यवस्थापन र नैतिक शिक्षामा ध्यान दिन आग्रह गर्नुभयो । “हामीले बालबालिकालाई केवल पढाउने मात्र होइन, उनीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा पनि काम गर्नुपर्छ,” उहाँले बताउनुभयो । उहाँले यस्ता कार्यक्रमहरूले अभिभावकहरूलाई आफ्नो भूमिकाबारे थप स्पष्ट बनाउने र बालबालिकासँगको सम्बन्ध अझ सुदृढ गर्ने काम गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजाराम भाटले स्वागत मन्तव्य राख्दै अभिभावक शिक्षाको महत्वबारे विस्तृत जानकारी दिनुभयो । उहाँले विद्यालयमा मात्र शिक्षण सिकाइ सीमित नराखी घरमै पनि सिकाइको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । बालबालिकाको मनोविज्ञान बुझ्न, उनीहरूको रुचि अनुसार प्रोत्साहन गर्न र सकारात्मक व्यवहार विकास गराउन अभिभावकको भूमिका महत्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा बालबालिकाको मनोवैज्ञानिक अवस्था, व्यवहार व्यवस्थापन, अनुशासन निर्माण तथा सकारात्मक अभिभावकत्व सम्बन्धी विभिन्न प्रस्तुतीहरू समेत प्रस्तुत गरिएको थियो, जसले सहभागी अभिभावकहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको थियो ।
यसका साथै, कार्यक्रममा अभिभावकहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यले अभिभावक कला कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा अभिभावकहरूले गीत, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुतीमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । यसले कार्यक्रमलाई थप आकर्षक र सहभागितामूलक बनाएको थियो । सहभागीहरूले यस्ता गतिविधिले आत्मविश्वास बढाउने र समुदायमा आपसी सम्बन्ध मजबुत बनाउने बताउनुभएको थियो ।
कार्यक्रम नव किरण संस्थाका सञ्चालक दिपक भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले आफूहरूले धेरै नयाँ कुरा सिक्ने अवसर पाएको प्रतिक्रिया दिनुभएको थियो । उहाहरूले बालबालिकासँग कसरी प्रभावकारी संवाद गर्ने, उनीहरूको समस्या कसरी बुझ्ने र कसरी सकारात्मक वातावरण सिर्जना गर्ने भन्ने विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनु भयो ।








































Comments