तिनाउ गाउँपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताका लागि कार्याशाला सुरू

तिनाउ गाउँपालिकाको आयोजनामा प्रारम्भिक बालविकास (ECD) सहजकर्ताहरूका लागि शैक्षिक सामग्री निर्माण, प्रयोग, भण्डारण तथा प्रभावकारी शिक्षण विधि सम्बन्धी कार्याशाला कार्यक्रम सुरु भएको छ। बालबालिकाको समग्र विकासमा गुणस्तरीय शिक्षाको महत्वपूर्ण भूमिका रहने भएकाले सहजकर्ताहरूलाई व्यवहारिक तथा सीपमूलक ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रमले विशेषगरी प्रारम्भिक बालविकास केन्द्रहरूमा कार्यरत सहजकर्ताहरूलाई शिक्षण प्रक्रियामा नवीन विधि अपनाउन र बालमैत्री वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बालविकास शिक्षालाई सुदृढ बनाउन स्थानीय तहले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै यस्ता कार्याशालाले सहजकर्ताहरूको क्षमता अभिवृद्धिमा ठुलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको भविष्य निर्माणमा प्रारम्भिक शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएकाले गुणस्तरीय शिक्षणमा जोड दिनुपर्ने बताउनुभयो । साथै, गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले पनि कार्याशालाले सहभागीहरूलाई व्यावहारिक सीप सिकाउने र त्यसलाई कार्यक्षेत्रमा लागू गर्न प्रेरित गर्ने धारणा राख्नुभयो । 

 

प्रमुख प्रशासकीय अधिकृत दिनेश शारूले कार्यक्रमको प्रभावकारिता बढाउन सहभागीहरूको सक्रियता आवश्यक रहेको बताउँदै सिकेका सीपहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले बालमैत्री शिक्षण वातावरण निर्माणका लागि स्थानीय स्रोत र सामग्रीको प्रयोगमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो। त्यस्तै, शिक्षा शाखा प्रमुख लक्ष्मी कुवरले कार्याशालामा ४६ जना सहजकर्ताहरूको सहभागिता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमले शिक्षण विधिलाई अझ प्रभावकारी बनाउने तथा बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्य राखेको छ । 

 

कार्याशालामा शैक्षिक सामग्री निर्माणका विभिन्न तरिका, तिनको सही प्रयोग, सुरक्षित भण्डारण तथा बालमैत्री शिक्षण विधिहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिइनेछ । सहभागीहरूले आफ्नै अनुभव आदानप्रदान गर्दै सिकाइ प्रक्रियालाई थप समृद्ध बनाउने अवसर पनि पाउनेछन् । कार्यक्रमले बालविकास केन्द्रहरूमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्दै बालबालिकाको बौद्धिक, सामाजिक तथा भावनात्मक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । 

Comments