तिनाउ–५ बाल श्रममुक्त घोषणा, कोलडाँडामा मगर सङ्ग्रहालय र स्वास्थ्य चौकी उद्घाटन

पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित कोलडाँडामा मगर समुदायको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको मगर सङ्ग्रहालय तथा नयाँ स्वास्थ्य चौकी भवनको उद्घाटनसँगै वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य खेमबहादुर सारुले मगर सङ्ग्रहालय र स्वास्थ्य चौकी भवनको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै उहाँले कोलडाँडालाई मगर संस्कृति, स्थानीय उत्पादन र सामुदायिक आतिथ्यसँग जोडेर आकर्षक होमस्टेका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको बताउनुभयो । उहाँले सङ्ग्रहालयसँगै मगर संस्कृति, परम्परा र स्थानीय खानाका परिकारलाई जोडेर होमस्टे सञ्चालन गर्न सके पर्यटक आकर्षित हुने र स्थानीयको आयआर्जन तथा रोजगारी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । तिनाउका मरामकोट र जन्तीलुङ होमस्टे आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको उदाहरण दिँदै कोलडाँडालाई पनि त्यस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समुदायलाई अग्रसर हुन आग्रह गर्नुभयो । साथै स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य चौकी भवन निर्माणका लागि आफूले पहल गरेको स्मरण गर्दै नयाँ भवन सञ्चालनमा आएपछि स्थानीय नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । उहाले सिदार्थ राजमार्गदेखि कोलडाँडा सम्म बाटाे स्तरउन्नती गर्न, खानेपानी लगायतका अन्य पूर्वाधार विकासमा पनि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कोलडाँडा र माथागढी गाउँपालिकामा पर्ने कौडेलेकसम्मको बाटोविस्तार गर्न सके दुवै पालिकाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले आगामी दिनमा दुवै पालिकाले संयुक्त रूपमा उक्त बाटोलाई प्राथमिकतामा राखेर विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । कोलडाँडामा होमस्टे सञ्चालन गरी कौडेलेक हुँदै माथागढीको सराइ क्षेत्रसम्म पर्यटकीय मार्ग विकास गर्न सके पर्यटन, व्यापार, कृषि र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ थियो । यसले दुवै पालिकाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकामा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले उनीहरूको इतिहास, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि मगर सङ्ग्रहालय निर्माण गरिएको बताउनुभयो । उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरेको जानकारी दिँदै कोलडाँडाका कृषकहरूले हाल वार्षिक झण्डै दुई करोड रुपैयाँभन्दा बढी मूल्यको तरकारी बिक्री गर्न सफल भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले यस क्षेत्रलाई धनिया पकेट क्षेत्रका रूपमा विकास गरिसकेको र अन्य व्यावसायिक तरकारी उत्पादनलाई पनि विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै कृषि, पर्यटन र संस्कृतिलाई एकसाथ जोडेर कोलडाँडाको समग्र विकास गर्ने नीति लिइएको स्पष्ट पार्नुभयो । साथै उहाले वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यस अभियानलाई अन्य वडामा पनि प्रभावकारी रूपमा विस्तार गर्दै आगामी दिनमा सम्पूर्ण तिनाउ गाउँपालिकालाई नै बाल श्रम तथा सडक बालबालिका मुक्त पालिका घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । 

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले  कोलडाँडालाई सडक, स्वास्थ्य, कृषि, पर्यटन र संस्कृतिको समन्वित विकासमार्फत समृद्ध बस्तीका रूपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य रहेको बताउनुभयो। उहाँले मगर समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षणसँगै होमस्टे र पर्यटन प्रवर्द्धन, नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच तथा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । साथै बाल अधिकार संरक्षणलाई गाउँपालिकाको प्रमुख अभियानका रूपमा अघि बढाउँदै वडा नं. ५ बाट सुरु भएको बाल श्रम तथा सडक बालबालिका मुक्त अभियानलाई सबै वडामा विस्तार गरी आगामी दिनमा सम्पूर्ण तिनाउ गाउँपालिकालाई नै बाल श्रम तथा सडक बालबालिका मुक्त पालिका बनाइने बताउनुभयो  । कार्यक्रममा आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष गमबहादुर मगर, राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भूमिकुमारी बराल तथा तिनाउ गाउँपालिकाका पूर्व अध्यक्ष ओमबहादुर घर्तीले पनि शुभकामना मन्तव्य राख्दै मगर संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । वक्ताहरूले स्थानीय सरकार, समुदाय र सरोकारवालाको सहकार्यबाट विकासका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।

 

यसै अवसरमा वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिएको प्रतिवेदन बालसहायिका हिमाली चिदीले प्रस्तुत गर्नुभएको थियो । उहाले वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त घोषणा गर्नुअघि वडाभित्र रहेका बालबालिकाको अवस्था अध्ययन, तथ्याङ्क संकलन तथा आवश्यक अनुगमन गरिएको बताउनुभयो । बाल श्रममा संलग्न बालबालिकाको पहिचान गरी उनीहरूलाई शिक्षाको पहुँचमा ल्याउने, सडकमा रहेका तथा जोखिममा परेका बालबालिकाको संरक्षण सुनिश्चित गर्ने, विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना तथा नियमित अध्ययनमा सहभागी गराउने, बाल अधिकारको संरक्षण र सरोकारवाला निकाय तथा समुदायको सक्रिय सहकार्य सुनिश्चित भएपछि आवश्यक मापदण्ड पूरा गर्दै वडा नं. ५ लाई बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा गरिएको बताउनुभयो  । गाउँपालिकाले यस अभियानलाई अन्य वडामा समेत विस्तार गर्दै आगामी दिनमा सम्पूर्ण तिनाउ गाउँपालिकालाई नै बाल श्रम तथा सडक बालबालिका मुक्त पालिका बनाउने लक्ष्य लिएको जनाएको छ। कार्यक्रम वडा सदस्य गोपाल चौहानको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले मगर सङ्ग्रहालय, स्वास्थ्य चौकी भवन उद्घाटन तथा बाल श्रम तथा सडक बालबालिका मुक्त वडा घोषणा जस्ता कार्यले कोलडाँडाको सामाजिक, सांस्कृतिक, स्वास्थ्य, कृषि र पर्यटन विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए ।

Comments