तानसेनमा सम्पन्न मेयर कप भलिबलमा तानसेन–१४ प्रथम हुँदै उपाधि जित्न सफल
पाल्पा जिल्लाको तानसेन टुडिखेलमा आयोजना गरिएको मेयर कप भलिबल प्रतियोगिता २०८३ को उपाधि तानसेन नगरपालिका वडा नं १४ ले हासिल गरेको छ। बिहीबार सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा वडा नं १४ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी बन्न सफल भएको हो। तानसेन नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न यस प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकास तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा वडा नं १० द्वितीय तथा वडा नं १३ तृतीय स्थानमा रहन सफल भएका छन्।
मेयर कप २०८३ भलिबल खेलका संयोजक कृष्ण आलेका अनुसार सम्पूर्ण खेलहरू अत्यन्त प्रतिस्पर्धात्मक, मर्यादित तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको बताउनुभयो । प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत सम्मान गरिएको छ। जसअनुसार वडा नं १४ का अन्जित शारू ‘बेस्ट म्यान’ घोषित हुनुभएको छ भने सोही वडाका मानव शारू उत्कृष्ट स्पाइकर बन्नुभएको छ। वडा नं १० का बिरेन्द्र रेश्मी उत्कृष्ट सर्भर घोषित हुनुभएको छ भने वडा नं १३ का शिव भट्टराई उत्कृष्ट ब्लकर हुनुभएको छ । यसैगरी वडा नं १४ का अनिल शारू उत्कृष्ट डिफेन्स तथा बिकम दर्लामी उत्कृष्ट सेटर घोषित हुनुभएको छ । सबै खेलाडीहरूको योगदानले प्रतियोगितालाई सफल र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको संयोजक कृष्ण आले बताउनुभयो ।
पुरस्कार व्यवस्थातर्फ प्रथम हुने टोलीलाई ७५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने द्वितीय स्थान प्राप्त गर्ने टोलीलाई ४० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय स्थान हासिल गर्ने टोलीलाई २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी व्यक्तिगत विधातर्फ विजेता खेलाडीहरूलाई जनही २ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा कुल ९ वटा टोलीहरूको सहभागिता रहेको थियो र कार्यक्रम बैशाख १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिनुभएको छ । यस प्रकारका प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास, युवाहरूको प्रतिभा प्रस्फुटन तथा सामाजिक एकता अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।








































Comments