तानसेनमा गँठेमंगल पर्व मनाइयो !
पाल्पा — नेवारी समुदायमा प्रचलित घण्टाकर्ण (गँठेमंगल) पर्व परम्परागत रूपमा मनाइएको छ। हराउँदै गएको परम्पराको संरक्षण गर्ने उद्देश्यले नारायण युवा क्लब, तानसेन–२ ले नारायणस्थान चोकमा नर्कटबाट तीनखुट्टे लिंगाकृतिको गठाँमो ठड्याएको हो। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वसँगै पाल्पामा जात्रा तथा चाडपर्वको मौसम सुरु भएको मानिन्छ। नेपाल संवतअनुसार श्रावण कृष्ण चतुर्दशीका दिन विशेषगरी नेवार समुदायले मनाउने यस प्राचीन सांस्कृतिक पर्वले राक्षस, रोगव्याधि, अशुभ तथा नकारात्मक शक्तिमाथिको विजयको प्रतीक जनाउँछ। लोककथाअनुसार कानमा घन्टी झुन्ड्याएर भगवानको नाम नसुन्ने क्रूर राक्षस घण्टाकर्णलाई स्थानीयवासीले परास्त गरी जलाएका थिए। त्यसैको सम्झनामा नर्कट र परालबाट राक्षसको आकृति बनाएर साँझ नदी किनारमा लगेर दहन वा विसर्जन गर्ने परम्परा रहिआएको छ। यस दिन घरको मूलढोकामा फलामको किला ठोक्ने, फलामको औँठी लगाउने तथा ‘बौः’ सेलाउने चलन पनि रहेको छ
स्थानीय प्रविन शाक्यले घण्टाकर्णको लिंगाकृतिसँगै तानसेनमा जात्राको मौसम सुरु भएको शंखघोष हुने बताउनुभयो। उहाँका अनुसार धान रोपाइँ सम्पन्न भएपछि नेवार समुदायले मनाउने पहिलो चाडका रूपमा गँठेमंगललाई लिने परम्परा रहेको छ। तानसेन नगरपालिका वडा नं. २ का अध्यक्ष महेश्वर श्रेष्ठले स्थानीय कला, संस्कृति, भाषा, रीतिरिवाज र परम्परा समुदायको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्द्धनमा वडा तथा नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो।
नारायण युवा क्लबका अध्यक्ष विनायक महर्जनले गँठेमंगल धान रोपाइँ सकिएपछि विश्राम गर्ने र चाडपर्व सुरु भएको जानकारी गराउने पर्व भएको बताउनुभयो। श्रीकृष्ण जन्माष्टमीअघिको रात लाखे सेलाइने चलन रहेको छ भने नागपञ्चमी, जनैपूर्णिमा र श्रीकृष्ण जन्माष्टमीका अवसरमा लाखे नाच प्रदर्शन गरिन्छ। पाल्पाका सिलुवा, बिरकोट, खालीवन, रामपुर, दर्छा र जब्गादीलगायतका स्थानमा भने तीज तथा सराँते पूर्णिमासम्म लाखे नाचिने परम्परा रहेको छ।
जानकारहरूका अनुसार धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु, भगाउन धुप बालेर धुवाँ लगाइने चलन छ। यसबाट किटाणु नष्ट हुने जनविश्वास रहेको छ।गँठेमंगलका अवसरमा तानसेनका बसपार्क, लहरेपिपल, शीतलपाटी, टक्सार, कैलानगर, विशालबजार, भुसालडाँडालगायत स्थानमा नर्कटबाट गठाँमो ठड्याइएको थियो।









































Comments