तानसेन वडा न ६ मा पशु स्वास्थ्य शिविर सम्पन्न, १५० कृषक लाभान्वित
पाल्पा -जिल्लाको तानसेन नगरपालिका वडा नं. ६ मा पशुपालन व्यवसायलाई थप सुदृढ, व्यवस्थित तथा दिगो बनाउने उद्देश्यका साथ एक दिवसीय पशु स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । तानसेन नगरपालिका तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा सञ्चालित तानसेन आर्थिक विकास परियोजना अन्तर्गत उक्त शिविर आयोजना गरिएको हो । ग्रामीण भेगका कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरले पशु स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्नुका साथै कृषकहरूलाई व्यावसायिक पशुपालनतर्फ प्रेरित गर्ने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो, जसले यस्ता कार्यक्रमप्रति उहाहरूको चासो र आवश्यकतालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
उक्त शिविरमा १५० जना कृषकहरूको सक्रिय उपस्थिति रहेको आयोजक संस्थाले जनाएका छन । शिविर अन्तर्गत २२५ वटा बाख्रा, ६५ वटा भैंसी, ३५ वटा गाई तथा ५३ वटा बंगुरको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा पशुहरूको गोबर परीक्षण, थुनेलो (मास्टाइटिस) जाँच, विभिन्न रोगहरूको पहिचान तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । साथै पशु बाँझोपनसम्बन्धी समस्या समाधानका लागि परामर्श दिइएको थियो भने जुकाको औषधि वितरण समेत गरिएको थियो । यसका अतिरिक्त पशु आहार, पोषण, सरसफाइ तथा आधुनिक व्यवस्थापन पद्धतिबारे जानकारी प्रदान गरिएको थियो । कृषकहरूलाई आफ्नै घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हुँदा उहाहरूले समय, लागत तथा श्रमको बचत गर्न सहयोग गरेको बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका पशु विकास शाखा प्रमुख डा. विशाल बस्यालले यस्ता शिविरहरूले ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यवस्थित र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय तह, विकास साझेदार संस्था तथा समुदायबीचको सहकार्यले मात्र यस्ता कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने बताउँदै कृषकहरूको आयआर्जन वृद्धि गर्न पशु स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. अंशु प्रधानले पशु स्वास्थ्य सेवा विस्तार र कृषक सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले कृषकहरूको उत्साहजनक सहभागिताले कार्यक्रम सफल भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा वडा सदस्य दिर्घ सिंह थापाले स्थानीय सरकार सधैं कृषकहरूको हित र विकासप्रति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पशुपालनलाई व्यवसायिक, आधुनिक तथा आयमूलक बनाउने लक्ष्यका साथ यस्ता शिविरहरूलाई निरन्तरता दिइने जानकारी दिनुभयो । साथै परियोजना संयोजक डा. चन्द्र बहादुर राना र प्राविधिक संयोजक विष्णु प्रसाद रेग्मीले कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार गर्ने योजना रहेको बताउनुभयो । सहभागी कृषकहरूले शिविरबाट आफूहरू प्रत्यक्ष लाभान्वित भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । यस प्रकारका कार्यक्रमहरूले ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउन र कृषकहरूको जीवनस्तर उकास्न दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन ग्रामीण आर्थिक विकास संघ रेडाका प्राविधिक संयोजक बिष्णु प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।








































Comments