तानसेन गुठी तानसेन शाखाको १० औँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पा — तानसेन गुठी तानसेन शाखाको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै समाजलाई एकताबद्ध बनाउने कार्यमा गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले गुठी केवल परम्परा जोगाउने संस्था मात्र नभई सामाजिक उत्तरदायित्व, संस्कृति संरक्षण र नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्ने अभियानको अगुवा संस्था भएको उल्लेख गर्नुभयो। आगामी दिनमा गुठीले स्थानीय सरकार, सामाजिक संघसंस्था र युवासँग सहकार्य गर्दै अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। गुठीका संस्थापक अध्यक्ष एवं सल्लाहकार सर्जुलाल बज्राचार्यले स्थापना गर्दाको उद्देश्य स्मरण गर्दै तानसेनको मौलिक संस्कृति र गुठी परम्परालाई पुस्तान्तरण गर्न सबै सदस्यको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले संस्थाले विगत १० वर्षमा हासिल गरेका उपलब्धिलाई आगामी दिनमा अझ फराकिलो बनाउँदै नयाँ पुस्तालाई गुठी अभियानसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रममा नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्माले सामाजिक संस्थाहरूबीचको सहकार्यले समाज विकासलाई गति दिने बताउँदै तानसेन गुठीले सांस्कृतिक संरक्षणसँगै सामाजिक सेवाका क्षेत्रमा योगदान दिएको उल्लेख गर्नुभयो। पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीरमान सिंहले तानसेनको सांस्कृतिक सम्पदा र पर्यटन विकास एकअर्कासँग जोडिएको विषय भएकाले गुठीले सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत सक्रिय भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो। त्यसैगरी तानसेन गुठी बुटवल शाखाका निवर्तमान अध्यक्ष केदार श्रेष्ठतानसेन गुठी तानसेनका निवर्तमान अध्यक्ष सुशील प्रधानतानसेन गुठी काठमाडौंका निवर्तमान अध्यक्ष जीवज्योति बज्राचार्य तथा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष नेपाल कमल तिमिल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्दै गुठीले सामाजिक सद्भाव, आपसी एकता, संस्कृति संरक्षण तथा समाजलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँहरूले गुठीको आगामी यात्रा अझ सशक्त, पारदर्शी र समाजमुखी बन्न शुभकामना व्यक्त गर्नुभयो।

 

साधारणसभामा तानसेन गुठी तानसेनका वरिष्ठ उपाध्यक्ष दिपेन्द्रमान थैवले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई स्वागत गर्नुभएको थियो। त्यसपछि कोषाध्यक्ष सन्ध्या शाक्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्षको १२ लाख ८८ हजार ५ सय ९३ रुपैयाँ बराबरको आय–व्यय विवरण सभासमक्ष पेश गर्नुभयो। उहाँले संस्थाको आर्थिक अवस्था सन्तुलित रहेको र आगामी दिनमा आयका स्रोत विस्तार गर्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो। कार्यक्रम तानसेन गुठी तानसेनकी अध्यक्ष सकुन्तला बज्राचार्यको अध्यक्षतामा तथा सचिव सञ्जय राज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो। अध्यक्ष बज्राचार्यले गुठीप्रति विश्वास राख्दै सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक र सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा तानसेनको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखी समाजसेवा, युवा सहभागिता, सांस्कृतिक जागरण तथा संस्थागत सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले गुठीलाई सबैको साझा संस्थाका रूपमा विकास गर्दै पारदर्शिता, उत्तरदायित्व र सक्रियताका साथ अघि बढाइने बताउनुभयो । 

Comments