सांस्कृतिक सम्पदा संरक्षणमा पाल्पा उद्योग वाणिज्य संघको पहल

पाल्पा, पाल्पाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले पाल्पाका ऐतिहासिक जात्रा– पर्वहरुको संरक्षणमा चासो देखाएको छ । संघले इतिहास बोकेका यहाँका सांस्कृति, चाडपर्व, जात्राहरु आर्थिक अभावका कारण  विस्तारै हराउँदै जान थालेपछि संरक्षणमा चासो देखाएको हो ।

 

उद्योगी व्यवसायीहरुको हकअधिकार, तानसेनको पर्यटन, खानेपानी जस्ता क्षेत्रमा उल्लेखीय रुपमा काम  गर्दै आएको संघले अहिले जिल्लाको कला, संस्कृति, पर्वहरुको संरक्षणमा समेत आफुलाई अग्रस बनाएको छ । उसले आर्थिक अभावका बावजूद पनि यहाँका जात्रा–पर्वहरुलाई निरन्तरता दिर्दै आएका संघ, संस्था र समूहहरुलाई आर्थिक सहयोग गरेको छ । विगतमा जस्तै संघले यस वर्ष पनि जात्रा– पर्वहरुका लागि ७६ हजार आर्थिक सहयोग गरेको छ । उसले बुधबार एक औपचारिक  कार्यक्रम गरी जात्रा– पर्वका लागि आर्थिक रकम सहयोग गरेको हो । संघले श्री ७ रणउजिरेश्वरी भगवती (अक्षयकोष)  लागि २५ हजार, पाल्पाली नाट्यकला साँस्कृतिक समुह (लाखे, चुईकी)का लागि ४ हजार, नेवा दय् दबु पाल्पालाई २ हजार ५ सय, नारायण युवा क्लव (शिवरात्री अक्षयकोष) का लागि ५ हजार, नेवा गुठी, तानसेन (सामुहिक ईहि) का लागि २ हजार, श्री ७ वटुक भैरव गुठी (रथ यात्रा)का  लागि ५ हजार, श्री ७ काल भैरव गुठी (रथ यात्रा)का लागि ५ हजार,  श्री ७ भिमसेन मन्दिर, भगवती टोल (रथ यात्रा)का लागि २ हजार ५ सय, टक्सार काल भैरव लाखे (लाखे नाँच)का लागि २ हजार ५ सय आर्थिक सहयोग गरेको छ । 

 

यस्तै चण्डेश्वरी युवा क्लव, रिब्दीकोट (विविध कार्यक्रम)का लागि  ३ हजार, वेशी टोल विकास संस्था, काजीपौवा (रोपाई जात्रा)का लागि ५ हजार, नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (कृष्ण जन्माष्टमी) का लागि २ हजार ५ सय, श्री कृष्ण जन्माष्टमी महोत्सव उ.स.का लागि ४ हजार, पाल्पाली लाँखे चुईकी युवा समुह (राजकुमार गन्धर्व)का लागि ३ हजार र प्रभातकालिन प्रसाद वितरण समिति (महाचैत्य विहार) का लागि ५ हजार संघले सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक संघका अध्यक्ष समिरमान सिंह, निवर्तमान अध्यक्ष, शैलेन्द्र भट्टराई, संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासघं लुम्बिनी प्रदेशका एशोसियट उपाध्यक्ष राजु महर्जन, संघका पुर्व अध्यक्ष हरी रायमाझी लगायतले जात्रा–पर्वहरुलाई निरन्तरता दिर्दै आएका संघ, संस्था र समूहहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका हुन् । 

 

सहयोग रकम हस्तान्तरण गर्दैं संघका अध्यक्ष सिंहले जिल्लाका कला, संस्कृति, जात्रा, पर्वहरु जिल्लाका गहना भएकाले तिनीहरुलाई जिवन्त राख्न थोरै भए  पनि संघले आर्थिक सहयोग गरेको बताए । उनले भने “हामीहरुले उद्योगी, व्यवसायीहरु र पर्यटन क्षेत्रको विकासमा मात्र हैन, ऐतिहासिक धरोहरका रुपमा रहेका कला, संस्कृतिको जर्गेना गर्ने काममा समेत विगतदेखि सहयोग गर्दै आएका छौं ।” सहयोग रकम ग्रहण गर्दै श्री ७ रणउजिरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान  महर्जनले संघले आफनो क्षमता अनुसार जुन सहयोग गरेको छ, त्यो प्रशंसनिय रहेको बताए । संघका अध्यक्ष समिरमान महर्जनको अध्यक्षता, वाणिज्य उपाध्यक्ष रञ्जना अर्यालको धन्यवाद ज्ञापन, महासचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments