सडक मर्मतमा खटिने श्रमिकलाई रैनादेवी छहराको सम्मान

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा श्रमिक सम्मान तथा झोला वितरण कार्यक्रम सम्पन्न भएको छ।श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत गाउँपालिकाको रोजगार सेवा केन्द्र शाखाको आयोजनामा  कार्यक्रम गरिएको थियो । एक औपचारीक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाका विभिन्न स्थानमा खटिएका १४ जना लेन्थ म्यान सडक मर्मत श्रमिक लाई उनीहरूको योगदानको कदर गर्दै श्रमिकहरूलाई सम्मानका साथै दैनिक कार्यमा सहज होस् भन्ने उद्देश्यले झोला समेत वितरण गरिएको रैनादेवी छहराका रोजगार संयोजक काली बहादुर रानाले जानकारी दिनुभयो । 

 

सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँपालिकाको विकास र पूर्वाधारको संरक्षणमा अहोरात्र खटिने श्रमिकहरूको योगदान अमूल्य भएको बताउदै श्रमिकहरूको आत्मसम्मान वृद्धि गर्नुका साथै उनीहरूमा थप उत्साह र प्रेरणा जगाउने र समाजमा श्रमको गरिमा स्थापित गर्दै श्रमिकहरूप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन यस्ता प्रयासहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यगाउँपालिकाले यस कार्यक्रममार्फत श्रमिकहरूलाई केवल भौतिक सहयोग मात्र नभई उनीहरूप्रति समाजले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेको छ। स(साना तर अर्थपूर्ण पहलहरूले स्थानीय स्तरमा सामाजिक एकता र सहकार्यको भावनालाई बलियो बनाउने विश्वास गाउँपालिकाले लिएको छ । 

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले कर्मचारी र श्रमिकबीचको समन्वयले मात्रै पालिकाको सेवा प्रवाह प्रभावकारी हुने बताउनुभयो। सम्मानित श्रमिकहरूले राज्यले आफ्नो कामको मुल्याङ्कन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

Comments