रैनादेवी छहरा गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न
रैनादेवी छहरा गाउँपालिका, पाल्पामा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम” सम्पन्न भएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा दिगो स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको संकेत गरेको छ। यस कार्यक्रमले सम्पूर्ण बालबालिकालाई आवश्यक सबै खोप सेवा सुनिश्चित गरिएको घोषणा गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षा प्रणालीलाई संस्थागत गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले गर्नुभएको थियो। उहाँले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवस्थामा पुर्याउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी तथा सम्पूर्ण अभिभावकहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। उहाँले खोप कार्यक्रमलाई केवल स्वास्थ्य अभियान मात्र नभई दीर्घकालीन जनस्वास्थ्यको आधारका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, आगामी दिनमा पनि खोप सेवाको निरन्तरता र गुणस्तरमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको उपस्थिति रहेको थियो। उहाँले स्थानीय तहको सक्रियता र समुदायको सहभागिताले मात्र यस्ता स्वास्थ्य अभियानहरू सफल हुने बताउँदै रैनादेवी छहरा गाउँपालिकाले हासिल गरेको उपलब्धि रहेको उल्लेख गर्नुभयो। उहाँले खोपले बालबालिकाको जीवन रक्षा गर्दै भविष्यमा स्वस्थ समाज निर्माण गर्न आधार तयार गर्ने भएकाले यसलाई निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विवेक रणपाल परियार र विश्वनाथ न्यौपानेले खोप अभियानको प्रभावकारिता, कार्यान्वयन प्रक्रिया तथा समुदायमा यसको सकारात्मक प्रभावबारे प्रकाश पार्नुभयो। उहाँहरूले खोप कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनत र समुदायको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। साथै, खोप सेवा सबै बालबालिकासम्म समान रूपमा पुग्नु नै यसको मुख्य उद्देश्य भएको स्पष्ट पार्नुभयो । सो अवसरमा जिल्ला खोप समन्वय समितिद्वारा गाउँपालिका खोप समन्वय समितिलाई “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र” हस्तान्तरण गरिएको थियो। यसले गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोपयुक्त क्षेत्रका रूपमा मान्यता प्रदान गरेको छ। कार्यक्रमका वक्ताहरूले खोप अभियानले बाल मृत्युदर घटाउन, रोग नियन्त्रण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको दिगोपनामा सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले खोप अभियानको महत्व, बाल स्वास्थ्य सुरक्षा, रोग निवारणमा खोपको भूमिका तथा यसको दीर्घकालीन प्रभावबारे मन्तव्य राख्नुभएको थियो। उहाँले स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीचको समन्वयले मात्र यस्ता अभियानहरू सफल हुने बताउनुभयो। कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।








































Comments