रैनादेवी छहरा गाउँपालिकाको छैठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न !!
पाल्पा- रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा वैशाख १४ देखि १६ गतेसम्म सञ्चालन भएको छैठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताले गाउँपालिकाभित्र रहेका खेल प्रतिभाहरूको पहिचान, संरक्षण र प्रोत्साहनमा उल्लेखनीय योगदान पुर्याउनुका साथै आपसी सद्भाव, सहकार्य र एकताको भावनालाई अझ सुदृढ बनाएको छ । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष तथा महिला भलिबल, पुरुष क्रिकेट र ब्याडमिन्टन जस्ता विभिन्न खेल विधाहरूमा प्रतिस्पर्धा सम्पन्न भई सहभागी खेलाडीहरूले उत्कृष्ट खेलकौशल प्रदर्शन गरेका थिए ।
कार्यक्रम गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । समापन समारोहमा अध्यक्ष भट्टराईले खेलकुदलाई सभ्य, स्वस्थ र अनुशासित समाज निर्माणको महत्वपूर्ण आधारको रूपमा उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूले युवाहरूलाई सकारात्मक मार्गतर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले गाउँपालिकाले खेलकुद क्षेत्रको दिगो विकासका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, गाउँपालिका उपाध्यक्ष युवराज थापाले खेलकुदमार्फत सामाजिक एकता र सहकार्यको भावना अभिवृद्धि हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित र व्यापक स्तरमा यस्ता कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत बिवेक रणपालले प्रतियोगिताको सफल आयोजनामा सबै पक्षको समन्वय र सक्रिय सहभागिता सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो । उहाले सम्पूर्ण खेलाडी, प्रशिक्षक, आयोजक, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूको योगदानको उच्च मूल्याङ्कन गर्दै धन्यवाद ज्ञापन गर्नुभयो । प्रतियोगितामा पुरुष भलिबलतर्फ वडा नं. ७ प्रथम, वडा नं. १ द्वितीय, वडा नं. ४ तृतीय तथा वडा नं. २ सान्त्वना भएका थिए भने महिला भलिबलतर्फ वडा नं. ४ प्रथम, वडा नं. २ द्वितीय, वडा नं. ५ तृतीय तथा वडा नं. १ सान्त्वना भएको थियो । पुरुष क्रिकेटतर्फ वडा नं. ५ प्रथम र वडा नं. ४ द्वितीय भएको थियो भने ब्याडमिन्टनतर्फ विभिन्न खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका थिए ।
समापन समारोहमा विजेता खेलाडीहरूलाई सम्मानपूर्वक नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय र गरिमामय उपस्थिति रहेको थियो । अन्त्यमा, आयोजकले यस महत्वपूर्ण कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा अझ उत्कृष्ट कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।








































Comments