रैनादेबी छहरामा ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण, १ सय५२ कृषक लाभान्वित

पाल्पाको रैनादेबी छहरा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत कृषकलाई लक्षित गर्दै ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ । गाउँपालिकाले कृषिमा आधुनिकीकरण ल्याउने, उत्पादन क्षमता वृद्धि गर्ने तथा कृषकको श्रम लागत घटाउने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पछिल्लो समय कृषिमा देखिएको श्रम अभाव, युवा जनशक्तिको विदेश पलायन तथा परम्परागत खेती प्रणालीका कारण उत्पादनमा आएको कमीलाई सम्बोधन गर्न स्थानीय तहले प्रविधिमैत्री खेती प्रणालीलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाका विभिन्न वडाबाट कृषक छनोट गरी उहाहरूको आवश्यकताको आधारमा औजार वितरण गरेको थियो, जसले गर्दा वास्तविक कृषक वर्गलाई प्रत्यक्ष लाभ पुगेको छ । 

 

यस कार्यक्रम अन्तर्गत ९१ वटा मिनीटिलर, ५२ वटा कुटानी–पिसानी मिल र ९ वटा चापकटर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यी उपकरणहरूले खेतीपाती तथा पशुपालनलाई अझ सहज, छरितो र प्रभावकारी बनाउने विश्वास गरिएको छ । विशेषगरी मिनीटिलरले जोताइ, गोडाइ र माटो तयारीमा समय बचत गर्नुका साथै कम श्रममै बढी काम गर्न सहयोग पुर्‍याउनेछ। कुटानी–पिसानी मिलले अन्न प्रशोधन प्रक्रियालाई सहज बनाउँदै घरमै उत्पादन प्रशोधन गर्न सकिने अवस्था सिर्जना गर्नेछ भने चापकटरले पशुपालक कृषकलाई घाँस काट्ने कार्यलाई छिटो र सुरक्षित बनाउनेछ । कार्यक्रमबाट गाउँपालिकाका कुल १ सय ५२ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । लाभान्वित कृषकहरूले यस्ता औजारले आफ्नो उत्पादन वृद्धि हुने, समय बचत हुने र आम्दानी बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले कृषिमा आधुनिकीकरण आजको आवश्यकता भएको उल्लेख गर्दै कृषकलाई प्रविधिसँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले स्थानीय उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको प्रमुख लक्ष्य रहेको पनि स्पष्ट पार्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी प्रमुख प्रशासकीय अधिकृत बिबेक रणपालले पारदर्शी, प्रभावकारी र कृषकमैत्री ढंगले कार्यक्रम सञ्चालन गरिएको बताउँदै यस्ता पहलले कृषकको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिमा प्रविधिको प्रयोगले युवालाई पनि आकर्षित गर्ने भएकाले दीर्घकालीन रूपमा कृषि क्षेत्र सुदृढ हुने धारणा राख्नुभयो ।

 

कार्यक्रमको सञ्चालन तथा समन्वय गाउँपालिकाको कृषि शाखाकी प्रतिनिधि सिर्जना थापाले गर्नुभएको थियो । उहाँका अनुसार कृषक छनोट गर्दा उनीहरूको सक्रियता, खेतीयोग्य जमिनको क्षेत्रफल, उत्पादनमुखी योजना तथा वास्तविक आवश्यकता जस्ता मापदण्डलाई आधार बनाइएको थियो। गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता अनुदानमुखी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

Comments