रम्भा गाउँपालिका पूर्ण खोप र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

पाल्पा जिल्लाको रम्भा गाउँपालिकालाई पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँपालिकाले लामो समयदेखि सञ्चालन गर्दै आएका स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको सकारात्मक परिणामस्वरूप यस्तो उपलब्धि सम्भव भएको जनाएको छ । घोषणासँगै गाउँपालिकाले आफ्नो क्षेत्रका सबै बालबालिकालाई आवश्यक खोप सेवा पूर्ण रूपमा उपलब्ध गराइएको सुनिश्चित गरेको छ भने गर्भवती महिलाहरूलाई अनिवार्य रूपमा स्वास्थ्य संस्थामै प्रसुति गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ। नियमित खोप अभियान, घरदैलोमा पुगेर गरिएको जनचेतना, स्वास्थ्य संस्थाहरूको पहुँच विस्तार तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय भूमिकाले यस उपलब्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ । विशेषगरी दुर्गम बस्तीहरूमा समेत सेवा विस्तार गरिएकाले नागरिकहरूमा स्वास्थ्य सेवाप्रति विश्वास बढ्दै गएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले स्वास्थ्य क्षेत्रमा गरिएको निरन्तर प्रयास, सहकार्य र समन्वयकै कारण यस्तो उपलब्धि हासिल भएको बताउनुभयो । उहाले स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका उपाध्यक्ष रिता कुमारी श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको निरन्तर सेवा, समर्पण र मेहनतकै कारण गाउँगाउँमा स्वास्थ्य सचेतना विस्तार हुन सकेको बताउनुभयो। उहाँले संस्थागत प्रसुति सेवाको विस्तारले मातृ तथा शिशु मृत्यु दर न्यूनीकरणमा उल्लेखनीय सहयोग पुगेको बताउँदै यसलाई अझ मजबुत बनाउन गाउँपालिकाले निरन्तर काम गरिरहेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर पुनले स्वास्थ्य सेवा प्रवाहलाई अझ व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन प्रशासनिक तहबाट आवश्यक सबै सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सेवा प्रवाहलाई पारदर्शी र पहुँचयोग्य बनाउन विभिन्न सुधारात्मक कदमहरू अघि बढाइएको समेत उल्लेख गर्नुभयो।

 

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले रम्भा गाउँपालिकाले तोकिएका स्वास्थ्य सूचकहरू पूर्ण रूपमा पूरा गरेपछि मात्र यो घोषणा गरिएको स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो समय नसर्ने रोगहरूको जोखिम बढ्दै गएकाले अब स्वास्थ्य सेवामा खोप र मातृ स्वास्थ्यसँगै दीर्घकालीन रोग रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाले खोप कार्यक्रमको शतप्रतिशत कार्यान्वयन, सबै लक्षित बालबालिकाको पूर्ण खोप सुनिश्चितता, संस्थागत प्रसुति दरमा उल्लेखनीय वृद्धि, नियमित स्वास्थ्य संस्थागत सेवा उपयोग, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता तथा समुदायमा स्वास्थ्य सचेतनाको विस्तारजस्ता प्रमुख सूचकहरू पूरा भएपछि यो घोषणा गरिएको बताउनुभयो ।

 

गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले यो सफलता केवल एक दिनको प्रयास नभई लामाे समयदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वयंसेविका तथा सम्पूर्ण समुदायले गरेको निरन्तर मेहनत र सहकार्यको परिणाम भएको उल्लेख गर्नुभयो । सबै बालबालिकालाई खोप सेवा सुनिश्चित गर्नु र गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामै सुरक्षित प्रसुति गराउने वातावरण निर्माण गर्नु गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य सेवा विस्तारलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक नागरिकसम्म गुणस्तरीय सेवा पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो । विशेषगरी ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन निरन्तर निगरानी, सचेतना कार्यक्रम तथा सेवा सुधारका कामहरू अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो । गाउँपालिकाले १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाइसकेको जनाएको छ ।

Comments