राम लाल–राधिका देवी गुप्ता स्मृतिमा नारायण युवा क्लबद्वारा भोजनदान कार्यक्रम सम्पन्न
पाल्पा- नारायण युवा क्लब तानसेन नगरपालिका–२, पाल्पाको आयोजनामा रामलाल(निबु लाल) र राधिका देवी गुप्ताको स्मृतिमा सिर्जनशील अपांग स्वावलम्बन समूहमा भोजनदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व, मानवीय सेवा र फरक क्षमता भएका व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, क्लबका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका–२ का वडा अध्यक्ष तथा क्लबका संस्थापक सचिव एवं पूर्वअध्यक्ष महेश्वर श्रेष्ठले फरक क्षमता भएका व्यक्तिहरूलाई दया वा सहानुभूतिको दृष्टिले मात्र हेर्ने होइन, उहाहरूलाई सीप, रोजगारी र स्वरोजगारका अवसरसँग जोडेर आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले समाजका सबै क्षेत्रले समान अवसर सिर्जना गर्न सके फरक क्षमता भएका व्यक्तिहरू पनि विकासका साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनालले नारायण युवा क्लबले सञ्चालन गरेको सेवामूलक अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अन्य क्लब तथा सामाजिक संस्थाहरूले पनि यस्ता मानवीय कार्यमा हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाले समुहलाई वार्षिक रूपमा बजेट बिनियोजन गरि सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो ।
सिर्जनशील अपांग स्वावलम्बन समूहका अध्यक्ष सन्दीप भट्टराईले २०६७ सालमा समूह स्थापना गरी फरक क्षमता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम, उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार समूहले हाल पाँच प्रकारका सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ भने नेपालका झण्डै ४० जिल्लाबाट विद्यार्थी तथा फरक क्षमता भएका व्यक्तिहरू अध्ययन, तालिम र सीप सिक्न आउने गरेका छन्। विभिन्न सहयोगदाता संस्था, व्यक्तित्व तथा शुभेच्छुकहरूको सहयोगबाट समूह सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो। कार्यक्रममा नारायण युवा क्लबका कानुनी सल्लाहकार शंकर शर्माले फरक क्षमता हुनु कमजोरी नभई प्रत्येक व्यक्तिमा आफ्नै विशेष क्षमता र सम्भावना हुने भएकाले उहाहरूलाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिनुभयो। क्लबका सल्लाहकार युवराज पौडेलले स्वर्गीय आमाबुवाको स्मृतिमा गरिएको भोजनदान कार्यक्रम मानवीय संवेदनासँग जोडिएको अनुकरणीय कार्य भएको बताउँदै यस्ता कार्यक्रमले समाजमा सेवा, सम्मान र जिम्मेवारीको भावना अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्ताले पनि यस्ता प्रेरणादायी कार्यबाट पाठ सिक्नुपर्ने बताउनुभयो।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रविनराज शाक्यले अक्षयकोष तथा विभिन्न सहयोगदाताको सहयोगमा हरेक वर्ष समाज उपयोगी कार्यक्रम सञ्चालन भइरहेको बताउँदै सहयोगदाता गोविन्द गुप्ताले आफ्ना पिता रामलाल गुप्ता ( निबु लाल) र माता राधिका देवी गुप्ता फरक क्षमता भएका व्यक्तिहरू भएकाले उहाँहरूको सम्झना र सम्मानस्वरूप भोजनदान कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो। उहाँले स्मृतिलाई कर्मसँग जोडेर समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा सहयोगदाता गोविन्द गुप्ताप्रति आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको थियो। उपस्थित वक्ताहरूले सामाजिक सेवाका यस्ता कार्यक्रमले फरक क्षमता भएका व्यक्तिहरूमा आत्मविश्वास बढाउनुका साथै समाजमा समानता, सहकार्य र सद्भावको भावना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष विनायक महर्जनको अध्यक्षतामा तथा सचिव विष्णु प्रसाद श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो। अध्यक्ष महर्जनले युवाशक्तिलाई सामाजिक सेवा, मानवीय सहयोग र समुदायको विकासमा परिचालन गर्नु नै नारायण युवा क्लबको मुख्य उद्देश्य रहेको बताउनुभयो। उहाँले क्लबले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, सामाजिक उत्तरदायित्व तथा मानव सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सहभागीहरूले भोजनदान जस्ता कार्यक्रमले फरक क्षमता भएका व्यक्तिहरूप्रति सम्मान र आत्मीयता अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक सोच र सेवाको संस्कार विकास गर्न उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । विगतदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको नारायण युवा क्लबको यो अभियानलाई सहभागीहरूले उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा प्रशंसा गर्नुभएको थियो ।









































Comments