रिब्दीकोट गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता घोषणा

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकालाई पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। बुधबार गाउँपालिकाको कार्यालय खस्यौलीमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो। यस घोषणासँगै गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै बालबालिकालाई आवश्यक खोप सेवा उपलब्ध गराउनुका साथै गर्भवती महिलाहरूलाई अनिवार्य रूपमा स्वास्थ्य संस्थामै प्रसुति गराउने व्यवस्था सुनिश्चित गरेको जनाएको छ । स्थानीय स्तरमा स्वास्थ्य सेवा विस्तारसँगै नागरिकहरूमा स्वास्थ्यप्रति सकारात्मक सोचको विकास हुँदै गएको र त्यसैको परिणामस्वरूप यो घोषणा सम्भव भएको गाउँपालिकाले जनाएको छ । 

 

कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि डा. माधव थापाले पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता केवल औपचारिक घोषणा नभई नागरिकको आधारभूत स्वास्थ्य अधिकारसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले स्वास्थ्यलाई केवल रोग नभएको अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित अवस्थाको रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यी चारमध्ये कुनै एक पक्ष कमजोर भएमा व्यक्तिलाई पूर्ण रूपमा स्वस्थ मान्न नसकिने उल्लेख गर्दै उहाँले राज्यले समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सर्ने तथा नसर्ने रोगहरू जटिल बन्दै गइरहेको अवस्थामा नागरिकहरूलाई स्वास्थ्यकर खानपान, सरसफाइ र जीवनशैलीप्रति सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । साथै स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार हुने स्पष्ट पार्दै उहाँले राज्यले आम नागरिकहरूले अनुभूति गर्ने खालका स्वास्थ्य नीतिहरू निकट भबिष्यमा ल्याउने बताउनुभयो । 

 

विशिष्ट अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा हासिल गरेको यो उपलब्धि उदाहरणीय रहेको बताउनुभयो । उहाँले स्थानीय तहले देखाएको सक्रियता र प्रतिबद्धताले जनस्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उपप्रमुख काशिका गैरेले स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय सेवा प्रवाहमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ मजबुत हुनुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष शान्ता अधिकारीले सुरक्षित मातृत्व सेवा र बाल स्वास्थ्य सुधारमा गाउँपालिकाले खेलेको भूमिकाले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुनु ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले यस्ता कार्यक्रमले जनस्वास्थ्य सूचकांक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै खोप र संस्थागत प्रसुति अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रमका अध्यक्ष तथा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसुति सेवा सुनिश्चितता घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले यो सफलता केवल एक दिनको प्रयास नभई वर्षौँदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वयंसेविका तथा सम्पूर्ण समुदायले गरेको निरन्तर मेहनत र सहकार्यको परिणाम भएको उल्लेख गर्नुभयो । सबै बालबालिकालाई खोप सेवा सुनिश्चित गर्नु र गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामै सुरक्षित प्रसुति गराउने वातावरण निर्माण गर्नु गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको उहाँको भनाइ थियो । उहाँले स्वास्थ्य सेवा विस्तारलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक नागरिकसम्म गुणस्तरीय सेवा पुर्‍याउने लक्ष्य गाउँपालिकाले लिएको बताउनुभयो। विशेषगरी ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन निरन्तर निगरानी, सचेतना कार्यक्रम तथा सेवा सुधारका कामहरू अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष कार्कीले स्वास्थ्य नै विकासको आधार भएकाले स्वस्थ नागरिक बिना समृद्ध गाउँपालिका सम्भव नहुने धारणा व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ र व्यवस्थित बनाउँदै जनताको प्रत्यक्ष अनुभूति हुने खालका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले १६ देखि २७ महिनासम्म गाउँपालिकाभित्र रहेका बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो । गाउँपालिका भित्रका ८ वटा वडाहरूमा रहेका १५ महिना मुनिका १६० जना बालबालिकाहरूले नियमित खोप लगाइ रहेको तथा १६ देखि ५९ महिना भित्रका ५ सय ४० जना बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएको हो । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको हो । गाउँपालिकामा १५ महिनाभन्दा मुनिका बालबालिकाहरूले नियमित खोप लगाइरहेको र १६ देखि ५९ महिना भित्रका बालबालिकाले पनि पूरा खोप पाइसकेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो । कार्यक्रमका अवसरमा गाउँपालिकाबाट स्वेच्छिक तथा अनिवार्य अवकाश लिएका स्वास्थ्यकर्मीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । यसले लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएका जनशक्तिको सम्मान र कदर गरिएको सन्देश दिएको छ । कार्यक्रम स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मि. कमला लाम्टाङेको स्वागत मन्तव्यबाट सुरु भई निमित्त प्रमुख प्रशासकीय अधिकृत रुकलाल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । 

Comments