पाल्पामा लेभल ‘०’ अम्पायर तथा स्कोरर तालिम सुरु !
पाल्पामा क्रिकेट खेलका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले लेभल ‘०’ अम्पायर तथा स्कोरर तालिमसुरु भएको छ । जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा, क्रिकेट एशोसिएसन अफ नेपालको प्राविधिक सहयोग तथा तानसेन नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिम उद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा जिल्ला क्रिकेट संघ पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईले सहभागीलाई स्वागत गर्नुभएको थियो। उहाँले क्रिकेटको विकासका लागि खेलाडी उत्पादनसँगै दक्ष अम्पायर तथा स्कोरर उत्पादन पनि आवश्यक रहेको र संघ ३ दिने तालिम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि आर्थिक,सामाजिक विकास,पूर्वाधार निर्माणसँगै खेलकुद क्षेत्रमा समेत नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो । खेलकुदमार्फत युवाको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले खेलकुद क्षेत्रका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख श्रेष्ठले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न नियमित प्रशिक्षण तथा प्रतियोगिता आवश्यक रहेको बताउँदै खेलकुदमा गरिएको लगानीले युवा पुस्तालाई सकारात्मक बाटोमा अघि बढाउन सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश खेलकुद विकास समितिका सदस्य राजु महर्जनले खेलकुद क्षेत्रको विकासका लागि राज्यले पर्याप्त लगानी र प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले खेलाडीले अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च बनाउने भएकाले खेलकुदलाई राज्यले विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो । खेलाडी उत्पादनका लागि प्रशिक्षण, प्रतियोगिता र आवश्यक पूर्वाधारसँगै अम्पायर, स्कोरर तथा प्रशिक्षकजस्ता प्राविधिक जनशक्तिको क्षमता विकासमा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मले खेलकुद क्षेत्रमा निरन्तर लगानी र कार्यक्रम सञ्चालन गर्न सके नयाँ प्रतिभालाई अवसर प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान अझ उचाइमा पुर्याउन सकिने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष विजय बौडेलले क्रिकेट संघ पाल्पामा नयाँ कार्यसमितिले नयाँ उत्साहका साथ गतिविधि अघि बढाइरहेको बताउनुभयो । यस्ता कार्यक्रमले युवामा खेलकुदप्रतिको लगाव बढाउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा संघले अझ थप नयाँ र प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।
तालिममा सहभागीहरूले क्रिकेटका आधारभूत नियम, अम्पायरिङको भूमिका तथा जिम्मेवारी, खेल सञ्चालन प्रक्रिया, स्कोरिङ प्रणालीलगायतका विषयमा प्रशिक्षण लिनेछन् । तालिमले जिल्लामा सञ्चालन हुने क्रिकेट प्रतियोगिताका लागि आवश्यक प्राविधिक जनशक्ति तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष पूर्णराज शाक्यको अध्यक्षतातथा संघका सचिव विनोद नेपालको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमले पाल्पामा क्रिकेट खेलको संस्थागत तथा प्राविधिक विकासमा थप टेवा पुग्ने संघका पाल्पा जिल्ला अध्यक्ष शाक्यले बताउनुभयो ।









































Comments