पाल्पाली पहिचान र सेनकालीन इतिहासको प्रवर्द्धनका लागि पदयात्रा सुरु

पाल्पा, साउन ९ – पाल्पाको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पाल्पा च्याप्टरले “पाल्पाली पहिचान, सेनकालीन इतिहास” भन्ने मूल नारासहित पदयात्रा कार्यक्रम सुरु गरेको छ । श्रावण महिनाका प्रत्येक शनिबार सञ्चालन हुने यस पदयात्राको पहिलो चरण शनिबार पाल्पा दरबार परिसरबाट सुरु भई पुरनाकोट हुँदै शिलाङथोकसम्म पुगेको छ । कार्यक्रममा पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा पर्यटनप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो । 

 

कार्यक्रममा नाट्टा पाल्पा च्याप्टरका संस्थापक सचिव तथा तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागरमान महर्जनले पाल्पाको ऐतिहासिक पहिचान, सेनकालीन सम्पदा तथा प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्न यस्ता पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पाल्पामा रहेका ऐतिहासिक पदमार्ग र सम्पदाको संरक्षणसँगै प्रचारप्रसार गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । त्यसैगरी, गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय उपाध्यायले पाल्पाको इतिहास, संस्कृति र सम्पदाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने पर्याप्त सम्भावना बोकेको बताउनुभयो । यस्ता कार्यक्रमले स्थानीय पर्यटन प्रवर्द्धनसँगै समुदायमा सम्पदाप्रतिको अपनत्व र संरक्षणको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो । 

 

कार्यक्रमका संयोजक धिरज बहादुर बज्राचार्यले सहभागीलाई स्वागत गर्दै श्रावण महिनाभर सञ्चालन हुने पदयात्राले पाल्पाका ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रवर्द्धन गर्नुका साथै पर्यटन व्यवसायलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयोफ। उहाँले स्थानीय समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । पदयात्राको रुट तथा ऐतिहासिक महत्वबारे होटल व्यवसायी धिरेन प्रधानले जानकारी गराउँदै पाल्पा दरबार परिसरदेखि पुरनाकोट हुँदै शिलाङथोकसम्मको पदमार्ग प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र धार्मिक आस्थाले भरिपूर्ण रहेको बताउनुभयो । यस मार्गलाई व्यवस्थित गरी नियमित पर्यटन गतिविधिसँग जोड्न सके पाल्पाको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थपिने उहाँको भनाइ थियो ।

 

सहभागीहरूले पाल्पाको मौलिक पहिचान, सेनकालीन इतिहास र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका थिए । नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव कुमार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाल्पाको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने, ऐतिहासिक पदमार्गको संरक्षण गर्ने तथा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने विषयमा विशेष जोड दिइएको थियो । अध्यक्ष शाहले पाल्पालाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न नाट्टा पाल्पाले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रमको सञ्चालन नाट्टा पाल्पा च्याप्टरका सचिव सतिश राज शाक्यले गर्नुभएको थियो।

 

नाट्टा पाल्पा च्याप्टरका अनुसार श्रावण महिनाभरका चारै शनिबार फरक–फरक ऐतिहासिक तथा पर्यटकीय पदमार्गमा पदयात्रा सञ्चालन गरिनेछफ। यस अभियानले पाल्पाको ऐतिहासिक सम्पदा, सेनकालीन इतिहास, प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यो भन्दा २ बर्ष अगाडि नाट्टा पाल्पाले पाल्पाका नयाँ पर्यटकीय गन्तव्य स्थलहरूको पहिचान गरेको थियो । जस्मा सिद्वगुफा,पातले छागो,कुहिरे भिरमा पुगी उक्त पर्यटकीय स्थलहरूको पहिचान गरेको थियो । 

Comments