पाल्पाली चिकित्सक डा. सुरेन्द्र गैरेलाई दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सम्मान
पाल्पा जिल्लाका चिकित्सक डा. सुरेन्द्र गैरेले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै नेपाललाई गर्वान्वित बनाएका छन् । दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना भइरहेको KSUM 2026 Scientific Congress का क्रममा उहाँलाई प्रतिष्ठित ‘International Grant Award’ प्रदान गरिएको हो ।
यस अवार्डसँगै डा. गैरेले नगद २ हजार अमेरिकी डलर पुरस्कार पनि प्राप्त गर्नुभएको छ । विश्वभरका विशेषज्ञ चिकित्सकहरू सहभागी हुने यस अन्तर्राष्ट्रिय सम्मेलनमा उत्कृष्ट अनुसन्धान, योगदान र सम्भावनालाई मध्यनजर गर्दै उहाँलाई सम्मान गरिएको आयोजकले जनाएको छ। यो उपलब्धिले नेपाली चिकित्सा क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थिति अझ सशक्त बनाउने विश्वास गरिएको छ । डा. गैरेको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समग्र नेपाली स्वास्थ्य क्षेत्रका लागि प्रेरणादायी बनेको छ । उहाँले विशेषगरी थाइरोइड र अल्ट्रासाउन्ड सम्बन्धी क्षेत्रमा देखाउनुभएको दक्षता र अनुसन्धानात्मक योगदानका कारण यो सम्मान प्राप्त गर्न सफल हुनुभएको हो ।
यससँगै उहाँलाई दक्षिण कोरियाको प्रतिष्ठित Severance Hospital मा विशेष फेलोशिपका लागि पनि छनोट गरिएको छ । उक्त फेलोशिप अन्तर्गत उहाँले थाइरोइड रोग तथा आधुनिक अल्ट्रासाउन्ड प्रविधिबारे गहन अध्ययन र अनुसन्धान गर्ने अवसर पाउनुहुनेछ ।यसले उहाँको पेशागत क्षमतामा थप निखार ल्याउनुका साथै नेपाल फर्किएपछि यहाँको स्वास्थ्य सेवामा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । डा. गैरेले प्राप्त गरेको यो सम्मानले नेपाली चिकित्सकहरू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम र योग्य रहेको सन्देश पनि दिएको छ ।
स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्मको यात्रामा उहाँको यो उपलब्धि विशेष महत्व राख्छ । पाल्पा जस्तो क्षेत्रबाट उठेर अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउनु सजिलो कुरा होइन। यसले विशेषगरी ग्रामीण क्षेत्रका युवाहरूलाई ठूलो प्रेरणा दिने विश्वास गरिएको छ । डा. गैरेले आफ्नो सफलता नेपाल र नेपाली जनताको नाममा समर्पित गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले सिकेको ज्ञान र सीप नेपालमै प्रयोग गरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान गर्ने लक्ष्य राख्नुभएको पनि उल्लेख गर्नुभएको छ ।








































Comments