पाल्पाको रानीमहलस्थित खड्क भक्तेश्वर मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा भट्टराई
तानसेन - पाल्पाको ऐतिहासिक तथा पर्यटकीय सम्पदा रानीमहल क्षेत्रमा रहेको खड्क भक्तेश्वर मन्दिरको संरक्षण, व्यवस्थापन र गुठी सम्पत्तिको खोजी तथा संरक्षणका लागि गठन गरिएको खड्क भक्तेश्वर मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा देवी प्रसाद भट्टराई चयन हुनुभएको छ । मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गा प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भेलाले समितिको सचिवमा विमल पाण्डेय, कोषाध्यक्षमा टंक न्यौपाने, सदस्यमा मेघराज बस्याल र विवेक शमशेर जवरालाई चयन गरेको छ। जिल्ला भूमि प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सम्बन्धित वडाका जनप्रतिनिधि तथा मन्दिरका पुजारी पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री वीरबहादुर रानाले रानीमहल पाल्पाको मात्र नभई नेपालकै महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदा भएकाले यसको समग्र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले जनरल खड्क शमशेर जवराले आफ्नी रानी तेजकुमारी देवीप्रतिको प्रेम र वियोगको स्मृतिमा रानीमहल निर्माण गरेको उल्लेख गर्दै यसलाई प्रेमको प्रतीकका रूपमा विश्वसामु परिचित गराउन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले रानीमहलको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश र गण्डकी प्रदेश सरकारको संयुक्त मन्त्रिपरिषद् बैठक रानीमहलमा आयोजना गर्ने पहल आफूले अघि बढाएको जानकारी दिनुभयो । साथै रानीमहलदेखि स्याङ्जाको आलमदेवी मन्दिरसम्म केवलकार सञ्चालन गर्ने अवधारणा अघि बढेकाले यसले समग्र क्षेत्रको पर्यटन विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भेलामा रानीमहलसँग सम्बन्धित गुठी सम्पत्ति विभिन्न स्थानमा रहेको जानकारी दिँदै त्यसको खोजी, संरक्षण र व्यवस्थित अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो । बगनासकालीको खानीगाउँ, तानसेन–१३ बोघागुम्बा, तानसेन–८ मदनपोखरा, तानसेन–१४ अर्गली, बल्ढेङ्गढी लगायतका क्षेत्रमा गुठी रहेको चर्चा गर्दै त्यसको संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिइएको थियो । समितिले अब मन्दिरमा नियमित पूजाआजा सञ्चालन गर्ने, हराएका गजुर तथा अन्य सम्पदाको खोजी र व्यवस्थापन गर्ने, मन्दिर परिसरको सरसफाइ गर्ने, तानसेन नगरपालिका, पुरातत्व विभाग, गुठी संस्थान तथा संस्थापक परिवारका सन्ततिसँग समन्वय गर्दै संरक्षणका काम अघि बढाउने प्रारम्भिक कार्ययोजना बनाएको जनाएको छ । यस्तै रानीमहल क्षेत्रको दीर्घकालीन गुरुयोजना निर्माण, तानसेनदेखि रानीमहलसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने, दरबार नजिक नदी कटानबाट भइरहेको जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी तत्काल संरक्षणका कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत भेलाले प्राथमिकता दिएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि दिनेश ज्ञवाली, तानसेन नगरपालिका–१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईतथा तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले रानीमहलको ऐतिहासिक, धार्मिक तथा पर्यटन महत्वलाई जोगाउन सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँहरूले नवगठित समितिले संरक्षण, व्यवस्थापन र विकासका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन तानसेन टुरिजम एक्सन कमिटीका सदस्य पदम न्यौपानेले गर्नुभएको थियो। नवगठित समितिले रानीमहल क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वलाई थप उजागर गर्दै संरक्षण र व्यवस्थापनका कामलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।









































Comments