पाल्पाका ऐतिहासिक तथा पर्यटकीय गन्तव्य चिनाउन नाट्टाको पदयात्रा अभियान
तानसेन, पाल्पाको सेनकालीन इतिहास, ऐतिहासिक सम्पदा, सांस्कृतिक पहिचान तथा प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पाल्पा च्याप्टरले सञ्चालन गरेको ‘पाल्पाली पहिचान, सेनकालीन इतिहास’ ऐतिहासिक पदयात्रा अभियानअन्तर्गत आइतबार यात्रा भगवती मन्दिरमा पुगेर सम्पन्न भएको छ । श्रावण महिनाका प्रत्येक शनिबार फरक–फरक ऐतिहासिक तथा पर्यटकीय पदमार्गमा सञ्चालन भइरहेको अभियानअन्तर्गत तानसेनका विभिन्न ऐतिहासिक क्षेत्र हुँदै भगवती मन्दिर सम्म पदयात्रा गरिएको हो।
पदयात्राका क्रममा सहभागीहरूले पाल्पा दरबार परिसर, सिद्धबाबा मन्दिर, जितगढी, नुवाकोटलगायतका ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन गरेका थिए । यसअघि अमरनारायण मन्दिर परिसरबाट अमरगञ्ज, बागखोर हुँदै प्रभास–सुन्दरगाउँसम्मको यात्रा गरिएको थियो भने शीतलादेवी मन्दिर, दरबार थुम्का, वंशगोपाल मन्दिर, सूर्यकुण्ड, महादेव मन्दिर, ओशोधामलगायतका स्थलको अवलोकन गरिएको थियो । त्यस्तै पुराना पदमार्ग, प्रतापशमशेरकालीन सुरुङ, भुल्केको मुहान, राजकुलो, कालीगण्डकी, तीनमुखे पुल हुँदै ऋषिकेश मन्दिरसम्म समेत पदयात्रा गरिएको थियो ।
करिब ६० जनाको सहभागिता रहेको अभियानले पाल्पाको इतिहास, प्रकृति र स्थानीय संस्कृतिलाई एकैसाथ अनुभूति गर्ने अवसर दिएको नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिव कुमार शाहले बताउनुभयो । अभियानको मुख्य उद्देश्य पाल्पाको गौरवशाली सेनकालीन इतिहास, धार्मिक तथा सांस्कृतिक सम्पदा र प्राकृतिक गन्तव्यलाई पर्यटनसँग जोड्नुका साथै ऐतिहासिक सम्पदाको संरक्षण र स्थानीय समुदायलाई पर्यटनमार्फत आयआर्जनसँग जोड्नु रहेको बताउनुभयो ।
पाल्पाका कम चिनिएका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकमाझ पुर्याउन अभियानलाई निरन्तरता दिइने नाट्टा पाल्पा च्याप्टरले जनाएको छ । दुई वर्षअघि सिद्धगुफा, पातले छाँगो र कुहिरेभीरजस्ता नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा प्रवर्द्धनमा पहल गरेको नाट्टाले त्यसैको निरन्तरताका रूपमा अभियान अघि बढाएको हो । ‘इतिहास किताबमा मात्रै होइन, हामीले हिँडेको बाटो, देखेको कुलो, सुरुङ, मन्दिर र बस्तीमा पनि जीवित हुन्छ’ भन्ने भावनासहित अघि बढाइएको अभियानले पाल्पाको मौलिक पहिचानलाई नयाँ पुस्तासँग जोड्ने अपेक्षा गरिएको पैदलयात्रा कार्यक्रम संयाेजक धिरज बज्राचार्यले बताउनुभयो ।









































Comments