पाल्पा–१ मा काँग्रेसको जरा अभियान: सदस्यता अद्यावधिकसहित संगठन सुदृढीकरणमा जोड

पाल्पा क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेसले“जरा अभियान तथा क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रम” शुरू गरेको छ । कार्यक्रम नेपाली काङ्गेस पाल्पा क्षेत्र न १ का क्षेत्रीय सभापति झमन राज मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय प्रतिनिधिहरू, महासमिति सदस्यहरू, क्षेत्रीय तथा स्थानीय तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । अभियानको मूल उद्देश्य पार्टी संगठनलाई जरोदेखि बलियो बनाउनु, सदस्यताको अभिलेखीकरणलाई व्यवस्थित गर्नु तथा आगामी १५ औँ महाधिवेशनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाउनु रहेको छ । सहभागीहरूले यस अभियानलाई केवल औपचारिक कार्यक्रमको रूपमा नभई संगठन सुदृढीकरणको आधारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममार्फत तल्लो तहसम्म संगठन विस्तार गर्ने, कार्यकर्ताहरूमा नयाँ ऊर्जा भर्ने तथा पार्टीप्रति विश्वास र सक्रियता अभिवृद्धि गर्ने सन्देश प्रवाह भएको बताइएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन निरन्तर अन्तरक्रिया, छलफल र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले राष्ट्रियता सुदृढीकरण, विधिको शासन स्थापना, नागरिक सर्वोच्चताको सुनिश्चितता तथा कानुनी सुधारमार्फत लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । साथै सामाजिक उत्तरदायित्वलाई मजबुत बनाउँदै जनतासँग नजिकिने नीति अवलम्बन गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले वैशाख मसान्तभित्रै सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न सबै नेता तथा कार्यकर्ताहरूलाई सक्रिय रूपमा जुट्न आग्रह गर्दै संगठनलाई गतिशील बनाउने जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा केन्द्रीय प्रतिनिधि हरि न्यौपाने तथा महासमिति सदस्य रमण बहादुर थापाले जरा अभियान संगठन विस्तार र मजबुतीकरणका लागि अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो । उहाँहरूले पार्टीभित्र रहेका कमजोरीहरूलाई पहिचान गरी समयमै सुधार गर्नुपर्ने, आन्तरिक एकता सुदृढ गर्नुपर्ने तथा अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै केन्द्रीय प्रतिनिधि निर्मला क्षेत्रीले पार्टीलाई रूपान्तरण गर्न जनविश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको बताउँदै जरा अभियानमार्फत युवा, महिला तथा आम नागरिकलाई पार्टीसँग जोड्ने अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय स्तरका समस्याहरूलाई पहिचान गरी समाधान खोज्ने प्रक्रियामा पनि अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

 

कार्यक्रमका अध्यक्ष झमन राज मगरले जरा अभियानलाई संगठन सुदृढीकरणको आधारशिला भएको बताउँदै तल्लो तहदेखि नै पार्टीलाई मजबुत बनाउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले क्रियाशील सदस्यता अद्यावधिकलाई पार्टीको जीवनरेखा भएको उल्लेख गर्दै प्रत्येक सदस्यलाई जिम्मेवार र सक्रिय बनाउनु अपरिहार्य रहेको धारणा राख्नुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्य हासिल गर्नुपर्ने, नियमित सम्पर्क, समन्वय र सक्रिय सहभागिताबाट मात्र संगठनलाई चलायमान बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा क्षेत्र नं. १ (क) का सभापति राम बहादुर रानाले स्वागत मन्तव्य राख्दै अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । अभियानले नेपाली काङ्ग्रेसलाई तल्लो तहदेखि सुदृढ बनाउँदै संगठनात्मक एकता, सक्रियता र जनसम्पर्कलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको नेपाली काङ्गेस पाल्पाका सचिव सन्तोष कुमार थापा मगरले बताउनुभयो । कार्यक्रमको सञ्चालन नेपाली काङ्गेस पाल्पा क्षेत्र न १ का सहसचिव मधु पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो । 

Comments