नारायण युवा क्लबको २९औँ वार्षिकोत्सव सम्पन्न, तीन महत्वपूर्ण निर्णय
तानसेन-नारायण युवा क्लब, तानसेन–२ ले आफ्नो २९औँ वार्षिकोत्सव विविध धार्मिक तथा सामाजिक कार्यक्रमका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको अमर नारायण मन्दिरमा विशेष पूजा–आराधना सम्पन्न गरिएको थियो । विशेष पूजापश्चात क्लबका अध्यक्ष बिनायक महर्जनको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा सञ्चालन गरिने धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिसम्बन्धी तीन महत्वपूर्ण निर्णय गरेको छ । बैठकले तानसेनको सांस्कृतिक सम्पदा संरक्षण, सामाजिक सेवाको निरन्तरता तथा धार्मिक परम्पराको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निर्णयहरू पारित गरेको हो ।
बैठकले पहिलो निर्णयस्वरूप आगामी साउन २६ गते तानसेन नगरपालिका–२ नारायणस्थानमा परम्परागत रूपमा निकालिने गाँठे मंगल कार्यक्रमलाई आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमको संयोजकको जिम्मेवारी क्लबका पूर्व अध्यक्ष प्रविन राज शाक्यलाई प्रदान गरिएको छ । प्रत्येक वर्ष मनाइने गाँठे मंगल तानसेनको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसलाई व्यवस्थित र आकर्षक ढंगले सञ्चालन गरिने क्लबले जनाएको छ । दोस्रो निर्णयअनुसार क्लबले विगतका वर्षहरूदेखि निरन्तर सञ्चालन गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। सोहीअनुसार तानसेन नगरपालिका–७ स्थित सिर्जनशील अपाङ्ग सेवा केन्द्रमा रहेका दृष्टिविहीन तथा आश्रित व्यक्तिहरूका लागि एक छाक भोजनदान कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ। सामाजिक सेवामार्फत मानवीय संवेदना अभिवृद्धि गर्ने उद्देश्यले क्लबले यो कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आएको छ।
यसैगरी, तेस्रो निर्णयअनुसार आगामी भदौ २० गते तानसेनमा आयोजना हुने ऐतिहासिक अमर नारायण मन्दिरको रथयात्रालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण सदस्य तथा स्थानीय समुदायसँग समन्वय गरी आवश्यक तयारी अघि बढाइने भएको छ। तानसेनको धार्मिक तथा सांस्कृतिक सम्पदाको रूपमा परिचित रथयात्रालाई थप व्यवस्थित र आकर्षक बनाउन क्लबले सक्रिय भूमिका खेल्ने जनाएको छ । बैठकमा क्लबका संस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ, सल्लाहकारहरू युवराज पौड्याल, शकुन्तला बज्राचार्य र शान्ति झेडी, साथै पूर्व अध्यक्षहरू किशोर दर्शन बज्राचार्य र प्रविन राज शाक्य लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उपस्थित वक्ताहरूले नारायण युवा क्लबले विगत २९ वर्षदेखि धार्मिक, सामाजिक, सांस्कृतिक तथा मानवीय सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि युवाहरूलाई समाजसेवामा सक्रिय बनाउन क्लबले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । स्थानीय धार्मिक सम्पदाको संरक्षण, परम्परागत संस्कृति जगेर्ना तथा सामाजिक सेवामार्फत समुदायसँग जोडिँदै आएको नारायण युवा क्लबले आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।









































Comments