नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ अधिवेशनमा मोहन प्रसाद श्रेष्ठको उम्मेदवारी !!
पाल्पा-नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारण सभा तथा अधिवेशन यही बैशाख २१ र २२ गते हुँदैछ । देशभरका उद्योगी, व्यवसायी तथा प्रतिनिधिहरूको सहभागितामा हुने यस अधिवेशनले महासंघको नयाँ नेतृत्व चयन गर्ने भएकाले विशेष महत्वका साथ हेरिएको छ । यसै सन्दर्भमा कार्यकारिणी समिति सदस्य पदका लागि जिल्ला तथा नगर खुल्ला तर्फ पाल्पाका अनुभवी व्यवसायी मोहन प्रसाद श्रेष्ठले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको उम्मेदवारीले लुम्बिनी प्रदेश मात्र नभई देशभरका व्यवसायीहरूबीच व्यापक चासो र सकारात्मक चर्चा सिर्जना गरेको छ । लामो समयदेखि व्यवसाय, संगठन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका श्रेष्ठले महासंघमार्फत निजी क्षेत्रको सशक्तिकरण, व्यवसायीहरूको हकहित अधिकारका योगदान पुर्याउने उद्देश्यसहित उम्मेदवारी दिनुभएको बताउनुभएको छ ।
श्रेष्ठको वि.सं. २०७३ देखि २०७६ सम्म पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा सफल नेतृत्व प्रदान गर्दै स्थानीय व्यवसायिक वातावरण सुधार, उद्यमशीलता प्रवर्द्धन र व्यवसायीहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । यसअघि उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यको रूपमा समेत कार्य गरिसक्नुभएको अनुभवी व्यक्तित्व हुनुहुन्छ । साथै उहाँ नेपाल उद्योग वाणिज्य महासंघ (लुम्बिनी प्रदेश) का संस्थापक कोषाध्यक्षका रूपमा प्रदेशस्तरमा संगठन निर्माण, व्यवस्थापन तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । यी अनुभवहरूले उहाँलाई महासंघको केन्द्रीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम उम्मेदवारका रूपमा स्थापित गरेका छन् ।
त्यसैगरी श्रेष्ठ व्यवसायिक क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित हुनुहुन्छ। उहाँ होटल इन्देणी तानसेन र होटल इन्देणी बुटवलका सञ्चालक हुनुहुन्छ, जसले पर्यटन तथा आतिथ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको छ । श्रेष्ठ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष तथा होटल एशोसिएसन अफ नेपाल पाल्पाका वरिष्ठ उपाध्यक्षका रूपमा समेत सक्रिय रहनुभएको छ । सामाजिक क्षेत्रमा पनि श्रेष्ठ उत्तिकै सक्रिय रहनुभएको छ । उहाँ रोटरी क्लब अफ पाल्पा तानसेनका पूर्व अध्यक्ष, लायन्स क्लब अफ पाल्पाका पूर्व अध्यक्ष तथा मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्षका रूपमा नेतृत्वदायी भूमिकामा रहनुभएको थियो । साथै उहाँ नेपाल क्षयरोग निवारण संस्था पाल्पाका कार्यसमिति सदस्य, नेपाल रेडक्रस सोसाइटी पाल्पाका आजीवन सदस्य तथा नेपाल हृदय रोग निवारण संस्थाका आजीवन सदस्यका रूपमा समाजसेवामा निरन्तर योगदान दिँदै आउनुभएको छ । यसका साथै उहाँ तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्षका रूपमा कार्यरत रहँदै तानसेनबासीलाई सहज, सरल र व्यवस्थित रूपमा खानेपानी उपलब्ध गराउने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले व्यवसायीहरूको हक, हित र अधिकारका लागि आफू सधैं प्रतिबद्ध रहने बताउनुभएको छ । विशेषगरी साना तथा मझौला व्यवसायीहरूको समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण, कर प्रणालीलाई सरल र व्यवहारिक बनाउने तथा निजी क्षेत्रलाई अझ सशक्त बनाउने आफ्नो मुख्य प्राथमिकता रहेको उहाँले स्पष्ट पार्नुभएको छ । देशभरका उद्योगी, व्यवसायी तथा प्रतिनिधिहरूको साझा आवाजलाई महासंघमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने लक्ष्यसहित उहाँले उम्मेदवारी दिनुभएको हो । उहाँले सम्पूर्ण प्रतिनिधि तथा व्यवसायीहरूसँग सहयोग र समर्थनको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई अनुभव, नेतृत्व क्षमता र संस्थागत प्रतिबद्धताको आधारमा मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ ।








































Comments