नगर बाल सञ्जाल रामपुरले जुना डकुमेन्ट्री प्रदर्शनको समिक्षा गर्‍यो ।

पाल्पा ,नगर बाल सञ्जाल रामपुर पाल्पाको समिक्षा बैठक बसेको छ । रामपुर नगरपालिकाको आयोजना र नगर बाल सञ्जाल रामपुर पाल्पाको समन्वयमा नगरपालिका भित्रका सबै वडामा प्रदर्शन गरिएको डकुमेन्ट्री तथा अन्तरक्रिया कार्यक्रमको आइतवार समिक्षा गरेको हो । रामपुर नगरपालिकाले आगामी मंसिर ५ गते बालमैत्री स्थानीय साशन घोषणाका लागि बाल विवाह तथा महिला हिंसा न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम अन्तर्गत जुना डकुमेन्ट्री प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समिक्षा कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकालाई यही मंसिर ५ गतेभित्र बालमैत्री स्थानीय साशन घोषणाका लागि बाल सञ्जालको सक्रियता महत्वपूर्ण हुने बताउनुभयो । बालबालिकाको क्षेत्रमा भएका विभिन्न शोषण र बाल विवाह न्यूनीकरण गर्न बालबालिका स्वयम सचेत हुन आवश्यक रहेको बताउनुभयो ।कला र चलचित्र प्रदर्शनबाट बढी प्रभावकारी हुने भएकोले  बाल विवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक डकुमेन्ट्री प्रदर्शन गरिएको जानकारी दिनुभयो । 

 

नगर प्रमुख थापाले सचेतना भए पनि बाल विवाह समाजमा व्याप्त रहेको भन्दै अब कारबाहीलाई कडाई गरेर न्यूनीकरण गर्नु पर्नेमा जोड दिनुभयो । साथै नगर बाल सञ्जालको सक्रियतामा सचेतनात्मक कार्यक्रम मात्र नभई रोकथाम र खबरदारी सहित कारवाहीको प्रक्रिया अगाडी बढाउन सके थप प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बालमैत्री स्थानीय साशन घोषणाका लागि सबैको सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले बाल सञ्जाल, जनप्रतिनिधि , सरोकारवाला सबै सक्रियताका साथ जिम्मेवारी निर्वाह गर्न सके मात्र बालमैत्री स्थानीय साशन घोषणा सम्भव हुने बताउनुभयो । सचेतनामूलक डकुमेन्ट्री जुना सफलतापूर्वक प्रभावकारी रुपमा प्रदर्शन गर्न नगर बाल सञ्जालले महत्वपूर्ण भूमिका खेलेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । नगर सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कृष्ण बहादुर दर्जीले बालमैत्री स्थानीय साशन घोषणाका लागि नगर बाल सञ्जालले वडा बाल सञ्जाललाई पनि सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले जुना डकुमेन्ट्री प्रदर्शनले बाल विवाह न्यूनीकरणका लागि सचेतना प्रदान गरेको भन्दै आगामी दिनमा अझ परिस्कृत र व्यवस्थित तवरले कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै वडा नं. ४ का अध्यक्ष राम बहादुर रानाले अबको नगरपालिकाको भविष्य बालबालिकाको काँधमा रहेको भन्दै बालमैत्री स्थानीय साशन घोषणाका लागि जनप्रतिनिधि र बालबालिका एक भएर लाग्नु पर्ने बताउनुभयो । वडा नं.८ का अध्यक्ष दिनेश आचार्यले बाल विवाहका घटना बारे बालबालिकाले नै जनप्रतिनिधिलाई सूचित गरेर सघाउन आग्रह गर्नुभयो । यसैगरी वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापाले सबै बालबालिकालाई समेटिने गरी आगामी कार्यक्रम सञ्चालन गरेर नगरपालिकालाई पूर्ण बालमैत्री स्थानीय साशन घोषणा गर्नु पर्ने बताउनुभयो । 

 

नगर सभाहलमा भएको कार्यक्रममा कार्यपालिका सदस्य देवका पोखरेल, मायादेवि नेपाली, दुर्गा देवि भण्डारी गौतम, यम बहादुर भुजेल, वडा सदस्य तथा बालमैत्री फोकल पर्शन तेज कुमारी गैरे नेपाली ,मोहन सिं राना, युवराज शाही, कमला गैरे, नारायण पोखरेल, सुमित्रा बर्मेली , महिला बालबालिका शाखा प्रमुख पुजा परियार, उद्यम विकास शाखा प्रमुख यमुना थापा, नगर बाल सञ्जालका अध्यक्ष शारदा प्रसाद श्रेष्ठ र उपाध्यक्ष विपना नेपाली लगाएतले बोल्दै नगरपालिकालाई बालमैत्री स्थानीय साशन घोषणाका लागि जनप्रतिनिधि, कर्मचारी, नगर तथा वडा बाल सञ्जाल र सरोकारवाला सबै समन्वय गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका छन् ।रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको समिक्षा कार्यक्रम नगर बाल सञ्जालका अध्यक्ष सारदा प्रसाद श्रेष्ठको स्वागत र सचिव सिम्रन केशीको सञ्चालनमा सम्पन्न भएको हो । नगरपालिकाले नगर बाल सञ्जालको समन्वय र सृष्टी फाउण्डेशनको सहकार्यमा सबै वडाका विद्यालयका विद्यार्थीहरुलाई समेटेर बाल विवाह तथा महिला हिंसा सम्बन्धी सचेतनामूलक डकुमेन्ट्री जुना प्रदर्शन गरेको थियो ।

Comments