मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाको अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाल्पा-मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसा तथा सामाजिक उत्तरदायित्वका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा समाजका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक कृष्णबहादुर रावल, संस्थापक सभापति शिव देवकोटा तथा केन्द्रीय सदस्य अरुण ज्ञवालीले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक कृष्णबहादुर रावलले मानवअधिकार प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यसको सुनिश्चितताका लागि मानवअधिकार तथा शान्ति समाज स्थापना कालदेखि नै निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले संस्थाले मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसालाई आफ्नो मूल आधार बनाएर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठेका मानवअधिकारका सवालमा निष्पक्ष, खरो र दृढ आवाज उठाउँदै आएको धारणा राख्नुभयो। मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नागरिक समाजको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो।
केन्द्रीय सदस्य अरुण ज्ञवालीले मानवअधिकारको रक्षा केवल राज्यको दायित्व मात्र नभई प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक उत्तरदायित्व, सहिष्णुता र विधिको शासनलाई सुदृढ बनाउन नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता तथा सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले समाजमा शान्ति, सद्भाव र मानवीय मूल्यको विकासका लागि सचेतना अभिवृद्धि गर्न यस्ता अभिमुखीकरण कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
संस्थापक सभापति शिव देवकोटाले मानवअधिकार तथा शान्ति समाजको स्थापना २०५६ सालमा भएको जानकारी दिँदै संस्थाको स्थापना आफूले गरेको स्मरण गर्नुभयो। उहाँले स्थापनाकालदेखि नै संस्थाले मानवअधिकार संरक्षण, लोकतान्त्रिक संस्कारको प्रवर्द्धन, सामाजिक न्याय, शान्ति र अहिंसाको पक्षमा निरन्तर अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। समाजमा देखिने विभेद, हिंसा तथा अन्यायविरुद्ध नागरिकस्तरबाट सशक्त आवाज उठाउनु संस्थाको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उहाँले नयाँ पुस्तालाई मानवअधिकारको मूल्य र महत्वबारे सचेत गराउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा तीनै जना सहजीकर्ताले मानवअधिकार, शान्ति, लोकतान्त्रिक मूल्य–मान्यता तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रेरणादायी प्रस्तुति दिनुभएको थियो। कार्यक्रम मानवअधिकार तथा शान्ति समाज पाल्पाका शाखाका सभापति पुरन कला थापाको सभापतित्व र सचिव रमेश राज बज्राचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा मानवअधिकार तथा शान्ति समाज पाल्पा शाखाका नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।









































Comments