मानव अधिकार तथा शान्ति समाज पाल्पामा नयाँ नेतृत्व,अध्यक्षमा पुनकला थापा
पाल्पा- मानव अधिकार तथा शान्ति समाज पाल्पाको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पुनकला थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन अधिकृत शिव देवकोटाले जानकारी दिनुभयो । साधारणसभामा लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीर बहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहारी प्रमुख वक्ताका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमको अध्यक्षता मानव अधिकार तथा शान्ति समाज पाल्पाका अध्यक्ष सन्तवीर बरालले गर्नुभएको थियो भने सञ्चालन सचिव अशोक घिमिरेले गर्नुभएको थियो । कार्यक्रममाराष्ट्रिय स्वतन्त्र पाटी पाल्पाका उपसभापति सुमन गैरे,नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ,नेकपा पाल्पाका संयोजक नेत्र पाण्डे,राष्टिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, नागरिक समाज, मानव अधिकारकर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता कृष्ण पहाडीले मानव अधिकार, लोकतन्त्र र शान्तिको संरक्षणका लागि नागरिक समाजको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मानव अधिकारको रक्षा, सामाजिक न्यायको स्थापना तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि निरन्तर खबरदारी र सक्रिय नागरिक सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रमुख अतिथि वीरबहादुर रानाले मानव अधिकारको संरक्षण र शान्तिपूर्ण समाज निर्माणका लागि राजनीतिक दल, नागरिक समाज तथा विभिन्न संघ–संस्थाबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
साधारणसभामा मानव अधिकारको संरक्षण, लोकतन्त्र, शान्ति, सामाजिक न्याय तथा नागरिक अधिकारका विषयमा व्यापक छलफल भएको थियो । सहभागीहरूले मानव अधिकारको प्रवर्द्धन, नागरिक अधिकारको सुनिश्चितता तथा समाजमा शान्ति र सद्भाव कायम राख्न संस्थाले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो । साधारणसभाबाट निर्वाचित नवनिर्वाचित सभापति पुनकला थापाले संस्थाको उद्देश्य, सिद्धान्त र मूल्य–मान्यतालाई आत्मसात् गर्दै मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा सशक्त रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पाल्पामा मानव अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि, नागरिकका अधिकारको संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउन कार्यसमितिले सक्रिय भूमिका खेल्ने गरि अगाडि बढ्ने बताउनुभयो ।
साधारणसभाबाट निर्वाचित १५ सदस्यीय कार्यसमितिमा सभापतिमा पुनकला थापा, उपसभापतिमा तुलसा नेपाल, सचिवमा रमेशराज बज्राचार्य, सहसचिवमा एन्जिला खनाल र कोषाध्यक्षमा प्रेमिला कार्की निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा सुनिता कुमारी प्रधान, टुम्ला बज्राचार्य, डोलराज अर्याल, कमल प्रसाद भट्टराई, सन्तोष गहतराज, दीपक कुमार बीसी, अरुणा पाण्डे, अनु रायमाझी, सीता देवी सिलवाल तथा बिचन्द्र रायमाझी चयन हुनुभएको छ । त्यस्तै, संस्थाको सल्लाहकारमा कृष्ण बहादुर रावल, अरुण ज्ञवाली र सन्तवीर बराल चयन हुनुभएको निर्वाचन अधिकृत शिव देवकोटाले जानकारी दिनुभयो ।









































Comments