मिलेनियम स्कुल चमेना गृहमा ग्यास दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु

पाल्पा – पाल्पाको तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी ८ वर्षीया बालिका साजुदा बानुको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । एलकेजीमा अध्ययनरत बानु गत साउन ७ गते विद्यालयको चमेना गृहमा खाजा खाने क्रममा अचानक ग्यासको पाइप फुस्किएर भएको आगलागीमा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल लगिएको थियो ।

 

पारिवारिक स्रोतका अनुसार उपचारकै क्रममा बुधबार दिउँसो उनको निधन भएको हो । परिवारका एक सदस्यका अनुसार बानुको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद बुधबार दिउँसो उनको मृत्यु भयो । उनको बिहिबार पोष्टमार्टम गरि तानसेन ल्याउने बताईएको छ । शोकमा बिहिबार र शुक्रवार मिलेनियम स्कुल विदा गरिएको छ ।

 

चिकित्सकका अनुसार आगलागीबाट बानुको अनुहार, दुवै हात, छातीको दाहिने भाग तथा कम्मरदेखि पैतालासम्म गरी करिब ३५ प्रतिशत शरीर जलेको थियो । उक्त घटनामा बानुसँगै खाजा खाइरहेका अन्य दुई जना विद्यार्थी पनि सामान्य घाइते भएका थिए । उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

 

Comments