जिल्ला क्रिकेट संघ पाल्पाको १९ औँ साधारण सभा तथा ५ औँ जिल्ला अधिवेशन सम्पन्न

पाल्पा-जिल्ला क्रिकेट संघ पाल्पाको १९ औँ साधारण सभा तथा ५ औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्णराज शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शैलेन्द्र भट्टराई, सचिवमा विनोद नेपाल, कोषाध्यक्षमा सचिन राना तथा सदस्यहरूमा उपेन्द्र नेपाल, राजीव श्रेष्ठ, सुरेश गोदार, ओमबहादुर थापा, राजेन्द्रमान शाक्य, मेलिना थापा र मोना थापा चयन हुनुभएको छ ।

 

अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष राजु महर्जनले क्रिकेट खेल नेपालमा द्रुत गतिमा विकास भइरहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवाको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले स्थानीय तह, शैक्षिक संस्था तथा खेलकुद संघ–संस्थाबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । विशिष्ट अतिथि नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप बजगाईले पाल्पामा क्रिकेटको विकासका लागि सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहहरूले खेल मैदान निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

 

क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले पाल्पा जिल्लामा व्यवस्थित क्रिकेट मैदान निर्माणको आवश्यकता औँल्याउँदै खेल पूर्वाधार विकासमा स्थानीय सरकारको सक्रियता अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा माथागढी गाउँपालिकाका खेल संयोजक तेज घर्ती मगर, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्ति न्यौपाने तथा प्याब्सन पाल्पाका पूर्व अध्यक्ष भरत आर्चायले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो ।

 

जिल्ला क्रिकेट संघ पाल्पाका कार्यवाहक उपाध्यक्ष तथा नवनिर्वाचित उपाध्यक्ष शैलेन्द्र भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सचिव विनोद नेपालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरूले पाल्पामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन तथा आवश्यक खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा संघलाई अझ सक्रिय र प्रभावकारी ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका दिनुभएको थियो । नवगठित कार्यसमितिले जिल्लामा क्रिकेटको दिगो विकासका लागि समन्वयात्मक र परिणाममुखी कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Comments