गोपालमान श्रेष्ठको १३ औँ दिनमा रामनदीधाममा धार्मिक विधिअनुसार अस्तु विसर्जन

पाल्पा– नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको १३औँ दिनको पुण्यतिथिको अवसरमा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित रामनदीधाममा धार्मिक विधिअनुसार अस्तु विसर्जन गरिएको छ। परिवारजनको उपस्थितिमा वैदिक परम्पराअनुसार पूजाआजा, श्राद्ध तथा अन्य धार्मिक विधि सम्पन्न गर्दै उहाँको अस्तु पवित्र कालीगण्डकी नदीमा विसर्जन गरिएको हो।

 

अस्तु विसर्जन कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, पूर्व उपसभापति धनराज गुरुङ, नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य सरस्वती तिवारी, नेपाली कांग्रेस गण्डकी प्रदेशकी उपसभापति मेखलाल श्रेष्ठ, कल्पना तिवारी, जिल्ला कार्यसमितिका पदाधिकारीहरू, विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरू, पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रममा सहभागी नेताहरूले स्वर्गीय गोपालमान श्रेष्ठले नेपाली लोकतान्त्रिक आन्दोलन, संविधान निर्माणको प्रक्रिया तथा नेपाली कांग्रेसको संगठन विस्तारमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्नुभएको थियो । उहाँले जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता र जनअधिकारको पक्षमा निर्वाह गर्नुभएको भूमिका प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँका विचार र आदर्शलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

 

धार्मिक विधिअनुसार सम्पन्न भएको अस्तु विसर्जन कार्यक्रममा उपस्थित सबैले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेका थिए। शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै उहाँले राष्ट्र र नेपाली कांग्रेसमा पुर्‍याएको योगदान सदैव स्मरणीय रहने सहभागीहरूको भनाइ थियो। श्रद्धा, सम्मान र भावनात्मक वातावरणबीच सम्पन्न भएको उक्त कार्यक्रममा दिवंगत नेता श्रेष्ठको व्यक्तित्व, राजनीतिक योगदान र समाजप्रतिको सेवाभावलाई स्मरण गर्दै उहाँको आदर्शलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा बताउनुभयो । 

Comments