चउनबारीमा २० हजार लिटर क्षमताको खानेपानी टंकी उद्घाटन, स्थानीयमा उत्साह

पाल्पा, वैशाख २८ ।

सुनिल कार्की ,पाल्पाको तानसेननगरपालिका वडा नं. ५ चउनबारीस्थित धुनाघाट–पानीखट्टा–फलाटेपानी–गिद्धले खानेपानी उपभोक्ता समितिद्वारा निर्माण गरिएको नयाँ खानेपानी टंकीको उद्घाटन गरिएको छ । २० हजार लिटर क्षमताको उक्त खानेपानी टंकीको पूर्वमन्त्री एवं वीर बहादुर रानाले रिबन काटेर उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले समुदायका नागरिकका साना–साना समस्याको समाधान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ ले तीन तहका सरकारको परिकल्पना गरे पनि गाउँको समग्र विकासका लागि तीनै तहबीच प्रभावकारी समन्वय हुन नसकेको उल्लेख गर्नुभयो । आफू प्रदेशसभा सदस्य बनेपछि पहुँचभन्दा आवश्यकता महसुस गरेर नेताका रूपमा होइन, जनप्रतिनिधिको कर्तव्य सम्झेर पाल्पाको विकासमा निरन्तर सक्रिय रहेको उहाँको भनाइ थियो ।

 

चउनबारी ,छापथोक क्षेत्र प्राकृतिक रूपमा अत्यन्त आकर्षक रहेको उल्लेख गर्दै उहाँले यहाँ पर्यापर्यटन, होमस्टे तथा पूर्वाधार निर्माणमार्फत समग्र विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । धुनाघाट–पानीखट्टा–फलाटेपानी–गिद्धले खानेपानी आयोजनामा करिब २० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १६ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको जनाइएको छ । यसअघि २०३९ सालमा निर्माण गरिएको पुरानो टंकी जीर्ण भएपछि स्थानीयवासीले खानेपानी अभावको समस्या झेल्दै आएका थिए । यस वर्ष नयाँ टंकी निर्माण सम्पन्न गरी आगामी वर्ष घर–घरमा धारा विस्तार गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ । कार्यक्रममा चउनबारी दुग्ध कृषि सहकारीका अध्यक्ष दिनेश खड्का, फलाटेपानी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणबहादुर रावल, धुनाघाट–पानीखट्टा खानेपानीका मानबहादुर खड्का, छापथोक धरमपानी लक्ष्मी मावि लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर रावल, वडा सदस्य मानबहादुर कार्की तथा डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख गुणनिधि पोखरेल लगायतले गाउँघरमा बढ्दो खानेपानी समस्या समाधानमा प्रदेशसभा सदस्य वीरबहादुर रानाले पुर्‍याएको सहयोगको प्रशंसा गर्नु भएको थियो । 

 

उहाँहरूले पक्की सडक, मोटरबाटोको पहुँच, रोजगारी र शिक्षाको समस्या समाधानतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको  थियो ।कार्यक्रममा २०३९ सालमा उक्त खानेपानी योजनाको विभिन्न समितिमा रही योगदान पुर्‍याएका व्यक्तित्व तथा दिवंगत व्यक्तिका परिवारलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा शोभाखर उपाध्याय घिमिरे, स्वर्गीय धनबहादुर कुँवर र हरिबहादुर कार्की रहेका छन् । कार्यक्रम धुनाघाट–पानीखट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर रावलको अध्यक्षता तथा विनोद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Comments