बैशाख १५ देखि २६ सम्म चौथो न्यू युथ युनियन कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने !!
पाल्पा- बैशाख १५ गतेदेखि २६ गतेसम्म पाल्पाको सुन्दर नगरी तानसेनमा चौथो न्यू युथ युनियन कप फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको विकास तथा युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले यस क्षेत्रको खेलकुद गतिविधिमा थप उत्साह ल्याउने विश्वास गरिएको छ। आयोजक क्लबले विगतका वर्षहरूदेखि निरन्तर रूपमा प्रतियोगिता सञ्चालन गर्दै आएको छ भने यसपटक पनि भव्य तयारीका साथ कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ। प्रतियोगिताले युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै अनुशासन, टीमवर्क र प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनि प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष राजु महर्जनले तानसेनको विकास पर्यटनको माध्यमबाट सम्भव रहेको बताउँदै प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी यस नगरीमा यस्ता प्रतियोगिताहरूले खेल पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता गतिविधिले खेलाडीहरूको पहिचान स्थापित गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो। साथै, क्लबद्वारा आयोजना गरिएका कार्यक्रमहरूमा स्थानीय सरकारहरूले पनि अपनत्व ग्रहण गर्दै सहयोग गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा क्लबका निवर्तमान अध्यक्ष मनोज लिगलले क्लबले विगतदेखि नै तानसेनलाई पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै आएको बताउनुभयो। उहाँका अनुसार खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रयासले तानसेनको पहिचान अझ सुदृढ बनाउन मद्दत पुगिरहेको छ,उहाले बताउनुभयो । कार्यक्रम पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष समिर मान सिंहले पाल्पामा युथ युनियन कप फुटबल प्रतियोगिता आयोजना हुनु प्रशंसनीय तथा स्वागतयोग्य कार्य भएको उल्लेख गर्नुभयो । उहाँले यस प्रतियोगिताले तानसेनका व्यापार व्यवसायमा वृद्धि ल्याउनुका साथै समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय बिर जंग राणा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल राज तिमिलसिना लगायतका व्यक्तित्वहरूले पनि आ-आफ्ना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको स्वागत क्लबका सचिव प्रकाश कार्कीले गर्नुभएको थियो भने सञ्चालन दिनेश नेपालले गर्नुभएको थियो । कार्यक्रम क्लबका अध्यक्ष ताम बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिताले तानसेनको खेलकुद, पर्यटन तथा आर्थिक क्षेत्रलाई सशक्त बनाउन महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ ।








































Comments