भदौ १५ गते तानसेनमा श्री ७ सिद्धिविनायक गणेशको रथयात्रा निकालिने !
तानसेन-पाल्पाको पुरानो तथा ऐतिहासिक जात्रामध्ये एक श्री ७ सिद्धिविनायक गणेशको रथयात्रा यस वर्ष भदौ १५ गते निकालिने भएको छ । हरेक वर्ष रोपाइँ जात्राको भोलिपल्ट मनाइने यो रथयात्रा विशेषगरी तानसेनका धार्मिक,सांस्कृतिक पर्वका रूपमा परिचित छ । श्रीनगरस्थित सिद्धिविनायक गणेश मन्दिरबाट बाजागाजा, भजन–कीर्तन, झांकी-याली र नेपाली सेनाको सलामीसँगै गणेशको रथ नगर परिक्रमा गराइने परम्परा रहिआएको छ।भगवती जात्रामा जस्तै कुमाल समुदायको युवाहरूले काँधमा रथ बोकेर तानसेन बजार परिक्रमा गराउने चलन छ । रथयात्राका क्रममा स्थानीय श्रद्धालुले गणेशको पूजा–आराधना गर्दै विभिन्न भेटीप्रसाद अर्पण गर्ने परम्परा रहिआएको छ ।
गुठीयार तथा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठका अनुसार गणेश रथयात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको छ । नेपाली सेनाले जीतगढी युद्धमा विजय हासिल गरेको खुसीयालीमा भगवती जात्रासँगै गणेशको रथयात्रा निकाल्ने परम्पराको सुरुवात भएको उहाँले बताउनुभयो । उहाँका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि नै गणेशको रथयात्रा पनि सञ्चालन हुँदै आएको हो ।
श्रेष्ठका अनुसार प्रारम्भमा लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले संयुक्त रूपमा गणेशको रथयात्रा सञ्चालन गर्ने परम्परा बसालेका थिए । पछि तीन परिवार बसाइँसराइ गरी बाहिर गएपछि विगत करिब ३५ वर्षदेखि श्रेष्ठ परिवारले गुठीमार्फत यो परम्परालाई निरन्तरता दिँदै आएको छ ।
सिद्धिविनायक गणेश सहयोग समितिका अध्यक्ष केदारलाल श्रेष्ठ अनुसार नेवार समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि हरेक वर्ष यो रथयात्रा आयोजना गरिँदै आएको हो । तानसेनमा विभिन्न रथयात्रा सञ्चालन हुने भए पनि गणेशको रथयात्रापछि मात्रै अन्य रथ निकाल्ने परम्परा रहेको स्थानीयहरू बताउनुहुन्छ । गणेश जात्राकै दिन बाघ जात्रा पनि पर्ने गर्दछ। यसैबीच, तानसेनमा सम्पन्न समितिको बैठकले यस वर्षको श्री ७ सिद्धिविनायक गणेश खटयात्रा मनाउने निर्णय गरेको छ । निर्णयअनुसार भदौ १४ गते बेलुका ८ बजे जाग्राम तथा भदौ १५ गते दिउँसो १ बजे रथयात्रा गरी तानसेन बजार परिक्रमा गराइनेछ ।
रथयात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । मूल परिचालन समितिको संयोजक समितिका उपाध्यक्ष बसन्तमान सिमाङगैडा रहनुभएको छ। समितिमा कार्यसमितिका पदाधिकारी, गुठीयार, तानसेन–३ का विद्यालयका प्रधानाध्यापक तथा टोल विकास संस्थाका प्रतिनिधिहरू सदस्य रहेका छन । त्यसैगरी भजन–कीर्तन तथा प्रचारप्रसार समितिको संयोजक सचिव दिपेन्द्रमान थैव तथा सदस्यमा सुरज श्रेष्ठ र मनमोहन श्रेष्ठ रहनुभएको छ । आर्थिक संकलन समितिको संयोजक अजयबहादुर श्रेष्ठ तथा सदस्यमा शालिकराम बस्याल र दिपा श्रेष्ठ रहनुभएको छ । सरसफाइ समितिमा संयोजक शम्भु आचार्य,कमल थापा र सुनिता श्रेष्ठ, रङरोगन समितिमा धीरज श्रेष्ठ, रामबहादुर जिसी र रामबहादुर थापा, झाँकी तथा र्याली समितिको संयोजक हरिबोल भट्टराई तथा सदस्यमा सुरज श्रेष्ठ र सरस्वती आले, साथै प्रसाद व्यवस्थापन समितिमा संयोजक भरतमान मलेगो, रामबहादुर जिसी, शम्भु आचार्य,दिपा श्रेष्ठ र बिनु मलेकु रहनुभएको समितिले जनाएको छ ।









































Comments