भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि तिनाउ गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । कार्यक्रमले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्य लिएको थियो । यस प्रकारका अन्तरक्रियाले स्थानीय तहमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सुशासन बिना दिगो विकास सम्भव नहुने स्पष्ट पार्दै पारदर्शिता, उत्तरदायित्व र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा हुने हरेक योजना, कार्यक्रम र निर्णयहरू नागरिकको हितलाई केन्द्रमा राखेर गर्नुपर्नेमा जोड दिनुभयो । जनताको विश्वास जित्न इमान्दारिता र स्पष्ट कार्यशैली आवश्यक रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्र प्रभावकारी सेवा प्रवाह सम्भव हुने धारणा राख्नुभयो । साथै भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्ष सचेत, जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले नागरिकको विश्वास जित्नु नै जनप्रतिनिधिको पहिलो जिम्मेवारी भएको बताउनुभयो । उहाँले सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउन गाउँपालिका निरन्तर लागि परेको जानकारी दिनुभयो । भ्रष्टाचार न्यूनीकरणका लागि नैतिकता, पारदर्शिता र जिम्मेवारीबोध आवश्यक रहेको उहाँको भनाइ थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत दिनेश शारूले प्रशासनिक कामकारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सुधारका प्रयास भइरहेको बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणको पहिलो आधार भनेकै कानुनी व्यवस्था र नियमहरूको पालना गर्नु हो। प्रत्येक व्यक्तिले आफ्नो जिम्मेवारी क्षेत्रबाटै कानुनअनुसार काम गर्ने संस्कार विकास गर्न सके मात्र सुशासन कायम हुने र भ्रष्टाचार नियन्त्रण सम्भव हुने उहाँले जोड दिनुभयो । साथै, नियमअनुसार सेवा प्रवाह भएमा पारदर्शिता बढ्ने र नागरिकको विश्वास समेत मजबुत हुने उहाँको भनाइ थियो ।

 

कार्यक्रमको अध्यक्षता अख्तियार दुरूपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका उपसचिव कमला घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले नागरिक सचेतना अभिवृद्धि, प्रविधिको प्रयोग, पारदर्शी प्रशासन र प्रभावकारी अनुगमनमार्फत सुशासन प्रवर्द्धन गर्न सकिने निष्कर्ष निकालेका छन्। यस कार्यक्रमले स्थानीय तहमा सुशासन सुदृढ गर्दै भ्रष्टाचारविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । 

Comments