तानसेनको विकासमा तानसेन गुठीको भूमिकाबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पाल्पा – तानसेनको विकासमा तानसेन गुठीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। तानसेन गुठीको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा तानसेनका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्नुका साथै तानसेनको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय विकासमा तानसेन गुठीले निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ।

 

कार्यक्रममा विद्यार्थीहरूले तानसेनको मौलिक पहिचान, ऐतिहासिक सम्पदा, कला, संस्कृति, जात्रा, परम्परा तथा धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए। नयाँ पुस्तालाई तानसेनको इतिहास र सांस्कृतिक महत्वसँग जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले बताउनुभयो 

 

तानसेन गुठीकी अध्यक्ष शकुन्तला बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तानसेन गुठीका सल्लाहकार सर्जुलाल बज्राचार्य प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा मंगलप्रसाद बज्राचार्य, सुशीलप्रसाद प्रधान, दीपेन्द्रमान थैव तथा रोहितप्रसाद ज्ञवाली अतिथिका रूपमा सहभागी हुनुभएको थियो । गुठीका सचिव संजयराज शाक्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सहसचिव मधुदयाल सैजुले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कन चित्रवलीराम सुवाल र पुष्कर अथक रेग्मीले गर्नुभएको थियो । निर्णायकहरूको मूल्याङ्कनअनुसार प.प.न.मा.वि.की सबिता थारू प्रथम, जनता मा.वि.का स्वीकृत ठकुरी द्वितीय तथा म.बो.मा.वि.की कुसुम कुमाल तृतीय हुनुभयो । देववाणी मा.वि.की प्रगति कार्कीले सान्त्वना स्थान हासिल गर्नुभयो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि सर्जुलाल बज्राचार्यले तानसेनको इतिहास, संस्कृति तथा सामाजिक पहिचान संरक्षणमा तानसेन गुठीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले गुठीले विगतदेखि गर्दै आएका सामाजिक, सांस्कृतिक तथा संरक्षणसम्बन्धी कार्यलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले तानसेनको विकास केवल भौतिक संरचना निर्माणमा मात्र सीमित नभई यसको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षणसँग पनि जोडिनुपर्ने बताउनुभयो । 

Comments