श्रीनगर यातायात सेवा कम्पनीको दोस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा सम्पन्न

पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालि, तानसेन पाल्पाको दोस्रो अधिवेशन तथा आठौँ वार्षिक साधारणसभा विभिन्न व्यक्तित्वहरूको सहभागितामा सम्पन्न भएको छ । कार्यक्रममा यातायात क्षेत्रको दिगोपन, सुशासन, ट्राफिक व्यवस्थापन, यात्रुको सुरक्षा तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले कुनै पनि संस्थाको दिगोपन, विश्वास र सफलताको आधार नेतृत्वको चरित्रमा निर्भर रहने बताउनुभयो। उहाँले संस्था बलियो बनाउन लोकतान्त्रिक चरित्र, पारदर्शिताको चरित्र, इमानदारिताको चरित्र र क्रियाशीलताको चरित्र अनिवार्य रहेको उल्लेख गर्नुभयो। संस्थाका सञ्चालक तथा नेतृत्व तहमा रहेका व्यक्तिहरूले निर्णय प्रक्रियामा लोकतान्त्रिक अभ्यासलाई आत्मसात् गर्दै पारदर्शी ढंगले काम गर्नुपर्ने, आर्थिक तथा प्रशासनिक गतिविधिलाई खुला र जवाफदेही बनाउनुपर्ने तथा व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकतामा राखेर इमानदारपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो। त्यस्तै, नेतृत्व केवल पदमा सीमित नभई काममा देखिनुपर्ने भन्दै क्रियाशीलता, उत्तरदायित्व र सेवाभावले मात्र संस्था निरन्तर प्रगतितर्फ अघि बढ्ने उहाँले बताउनुभयो। यी चार चरित्रलाई व्यवहारमा उतार्न सके कुनै पनि संस्था बलियो, दिगो र समाजमा विश्वासिलो बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

 

कार्यक्रमका विशिष्ट अतिथि तथा तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले सुरक्षित, व्यवस्थित र जिम्मेवार यातायात प्रणाली निर्माणका लागि स्थानीय सरकार र यातायात व्यवसायीबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले तानसेन नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न श्रीनगर यातायात सेवा कम्पनीसँग सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो। नगरपालिकाले अहिले तानसेन बजार क्षेत्रको पार्किङ व्यवस्थापनलाई व्यवस्थित बनाउने तयारी गरिरहेको उल्लेख गर्दै त्यस अभियानलाई सफल बनाउन यातायात व्यवसायी, चालक तथा सरोकारवाला सबैको सक्रिय सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। बजार क्षेत्रमा जथाभावी पार्किङ तथा अव्यवस्थित सवारी सञ्चालनका कारण ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्दै सबैले ट्राफिक नियमको पालना, अनुशासन र जिम्मेवारीका साथ सवारी सञ्चालन गरे दुर्घटना न्यूनीकरणका साथै यात्रुहरूले पनि सहज र सुरक्षित सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। साथै, नगर सरकार यातायात क्षेत्रसँग निरन्तर समन्वय र सहकार्य गर्दै सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

 

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजेन्द्र खड्काले प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि राज्यबाट पर्याप्त स्रोत–साधन उपलब्ध गराउन आवश्यक रहेको बताउनुभयो । उहाँले आधुनिक प्रविधिमा आधारित उच्च गुणस्तरका सीसीटीभी क्यामेरा तथा अन्य प्रविधिको विस्तार गर्न सके ट्राफिक नियम कार्यान्वयन अझ प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो। ट्राफिक प्रहरीको उद्देश्य चालकलाई दुःख दिने नभई सुरक्षित र अनुशासित यातायात प्रणाली निर्माण गर्नु रहेको उल्लेख गर्दै उहाँले सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बाबुराम कार्कीले सुरक्षित यात्राका लागि चालक, व्यवसायी र यात्रु सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। युनाइटेड मिसन अस्पताल पाल्पाकी प्रमुख रचेल कारक र  लुम्बिनी मेडिकल कलेजका कम्पनी सचिव कृष्ण पराजुलीले यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गर्न यातायात व्यवसायीलाई आग्रह गर्नुभयो । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष रञ्जना अर्यालले यातायात सेवा जिल्लाको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएको बताउँदै यात्रुलाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो । यसैगरी पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की तथा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै कम्पनीले  व्यवस्थित, पारदर्शी, यात्रुमैत्री र प्रविधिमैत्री बनाउँदै आगामी दिनमा सुरक्षित तथा गुणस्तरीय यातायात सेवा प्रवाह आग्रह गर्नुभयो । 

 

कार्यक्रममा कम्पनीका वार्षिक गतिविधि, आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। सहभागीहरूले कम्पनीले विगत आठ वर्षदेखि यात्रुलाई नियमित, भरपर्दो तथा सुरक्षित सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आगामी दिनमा सेवाको गुणस्तर अझ सुधार गर्न सुझाव दिएका थिए । श्रीनगर यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष डिलबहादुर ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कम्पनीका सचिव भवेन्द्र गौतमले गर्नुभएको थियो। कार्यक्रममा यातायात व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

Comments