रैनादेवी छहरा गाउँपालिकामा कृषकहरूलाई जैविक मल वितरण

पाल्पाकाे रैनादेवी छहरा गाउँपालिकाले सुन्तलाजात फलफुल खेती गर्ने कृषकहरूलाई जैविक मल वितरण गरेको छ । गाउँपालिकाले उत्पादन वृद्धिका साथै माटोको उर्वराशक्ति बढाउने उद्देश्यले कृषकहरूलाई मल उपलब्ध गराएको हो ।

 

गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृषकहरू, कृषि सहकारी प्रतिनिधिहरू, गाउँपालिका कर्मचारीहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । १३ वटा कृषि सहकारी तथा कृषि फर्महरूको सहकार्यमा गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा सुन्तलाजात फलफुल खेती गर्ने कृषकहरूलाई जम्मा १४१ क्विन्टल जैविक मल वितरण गरेको गाउँपालिकाकाे कृषि शाखाले जनाएको छ । जैविक मलको प्रयोगले उत्पादनमा वृद्धि हुनुका साथै माटोको प्राकृतिक उर्वराशक्ति जोगाउन मद्दत पुग्ने हुँदा गाउँपालिकाले यसको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तर खस्कँदै गएकाले जैविक मलको प्रयोग अनिवार्य हुनुपर्ने धारणा राख्नुभयाे । उहाले गाउँपालिकाले आगामी दिनमा पनि कृषकहरूलाई जैविक प्रविधिहरूको प्रयोगमा प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनुभयाे ।

 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले किसानहरूको मागलाई मध्यनजर गर्दै जैविक मल वितरण गरिएको बताउनुभयो । कृषि क्षेत्रको समृद्धि गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै उनले जैविक खेतीलाई प्रवर्द्धन गर्न आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि आगामी दिनमा पालिका बासी कृषकहरूलाई आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सहभागी कृषकहरूले गाउँपालिकाले उपलब्ध गराएको जैविक मलले उत्पादनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन ।  कृषकहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग समेत गर्नुभएको छ ।

Comments