रणउजिरेश्वरी भगवती मन्दिरको छाना पितलले छाइने, प्रदेश सरकारद्वारा १ करोड विनियोजन
पाल्पा- ऐतिहासिक तथा धार्मिक महत्व बोकेको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीहरूको पदहस्तान्तरण, पदस्थापना तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । जस्मा समितिको अध्यक्षमा असोक महर्जन,सचिवमा सुरेश लिगल,कोषाध्यक्षमा सोनित प्रधान,सदस्यहरूमा करण चित्रकार र सुरेन्द्र राज लवत निर्वाचन हुनुभएको छ । कार्यक्रममा मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरिएको छ । समितिका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्दै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद रानाले रणउजिरेश्वरी भगवती मन्दिर नेपालको इतिहास, राष्ट्रियता, वीरता, धैर्यता र रणकौशलसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएको बताउनुभयो । उहाँले रणउजिरेश्वरी भगवतीको रथयात्रालाई राष्ट्रिय पर्वका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै लुम्बिनी प्रदेश सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको र अब संघीय सरकारले पनि यसलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुपर्ने बताउनुभयो । सांसद रानाले लामो समयदेखि मन्दिरको छाना प्लास्टिकले छोपेर राख्नुपरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्दिर संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उक्त बजेटबाट मन्दिरको छाना पितलको पाताले छाउने योजना अघि बढाइएको बताउँदै यसले मन्दिरको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले रणउजिरेश्वरी भगवती मन्दिर पाल्पाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानको केन्द्र रहेको बताउनुभयो । धार्मिक सम्पदाको संरक्षण राज्यको मात्र नभई सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले गुठी व्यवस्थापन समितिले पारदर्शी, उत्तरदायी र योजनाबद्ध ढंगले काम गर्नुपर्ने धारणा राख्नुभयो । मन्दिरको संरक्षण र व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । मालपोत कार्यालय पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले गुठी सम्पत्तिको संरक्षण र कानुनी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले गुठीका सम्पत्ति तथा अभिलेखहरू व्यवस्थित राख्दै धार्मिक सम्पदाको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । ऐतिहासिक सम्पदाको संरक्षणले भावी पुस्तालाई आफ्नो संस्कृति र इतिहाससँग जोड्ने भएकाले गुठी व्यवस्थापन समितिले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । पूर्व मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश गंगोलले आफ्नो कार्यकालका अनुभव सुनाउँदै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले मन्दिरको संरक्षण, विकास र धार्मिक गतिविधिलाई थप प्रभावकारी बनाउन सबैको एकता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र पंजियार थारु, श्री दि फेमस महिन्द्र दल गणका गणपति शान्तकुमार थापा, सशस्त्र प्रहरी बलका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुख, समाजसेवी, गुठियार र श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । नवनिर्वाचित सचिव सुरेश लिगलको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहभागीहरूले रणउजिरेश्वरी भगवती मन्दिरको ऐतिहासिक गरिमा जोगाउँदै यसको संरक्षण, विकास र रथयात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।









































Comments