पाल्पाका प्रमुख राजनीतिक दलद्वारा सद्भाव, संयम र शान्तिको अपिल
पाल्पा, साउन १५ । सुनसरी लगायतका जिल्लामा हालै भएका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै पाल्पास्थित विभिन्न राजनीतिक दलहरूले संयुक्त रूपमा सद्भाव, संयम र शान्तिको अपिल जारी गरेका छन । शुक्रबार जारी गरिएको अपिलमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ । संयुक्त विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक राष्ट्र भएकाले विविधताबीचको एकतालाई राष्ट्रिय पहिचानका रूपमा संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । धर्म, जात, भाषा वा समुदायभन्दा माथि उठेर आपसी सम्मान, सहिष्णुता र सद्भावलाई थप सुदृढ बनाउन सबै नागरिकलाई आह्वान गरिएको छ ।
राजनीतिक दलहरूले कठिन परिस्थितिमा धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत हुन सबैमा आग्रह गर्दै अपुष्ट सूचना, अफवाह तथा उत्तेजक सामग्रीको पछि नलाग्न र सामाजिक सञ्जालमार्फत द्वेष फैलाउने गतिविधिबाट टाढा रहन अनुरोध गरेका छन । विज्ञप्तिमा घटनाको निष्पक्ष, पारदर्शी र कानुनबमोजिम छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा निर्दोष नागरिकको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । साथै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था तथा सञ्चारमाध्यमलाई शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा साझा पहल गर्न आग्रह गरिएको छ । सबै नेपालीले सामाजिक सद्भाव, राष्ट्रिय एकता र पारस्परिक विश्वासलाई अझ सुदृढ बनाउँदै शान्ति, सद्भाव र सहअस्तित्वको भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ ।
संयुक्त अपिलमा राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका सभापति विष्णु प्रसाद भण्डारी, नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठ, नेकपा (एमाले) पाल्पाका अध्यक्ष ओम बहादुर घर्ती मगर, नेपाली कम्युनिस्ट पार्टी पाल्पाका इन्चार्ज यादव बहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाका अध्यक्ष डुल बहादुर कुँवर तथा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीको हस्ताक्षर रहेको छ ।









































Comments