चैत २२ गते देखि दोस्रो तानसेन महोत्सव २०८१ आयोजना हुने !
पाल्पा-तानसेन नगरपालिकाको आयोजनामा दोस्रो तानसेन महोत्सव २०८१ आगामी चैत २२ गतेदेखि वैशाख ३ गतेसम्म पाल्पाको सदरमुकाम तानसेन स्थित टुडिखेल मैदानमा आयोजना गरिने भएको छ । कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजित महोत्सवलाई भव्य बनाउन तयारी तीव्र पारिएको पत्रकार भेटघाटमा आयाेजकले जानकारी दिएका छन ।
नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्य राखिएको महोत्सवमा यसपटक पहिलो पटक फिस टनेल निर्माण गरिनुका साथै स्थानीय शिल्प, कृषि, पशुपालन, घरेलु तथा साना उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिने छ । पाल्पाली ढाका, करुवा, माटाका भाँडाकुँडा, काठका सामग्रीलगायत स्थानीय हस्तकला प्रवर्द्धन गर्ने योजना महोत्सवको मुख्य प्राथमिकता बनेको तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्कीले बताउनुभयो ।
पर्यटन प्रवर्द्धनलाई महोत्सवको केन्द्रीय विषय बनाइएको छ । स्थानीय संस्कृति, भाषा, धार्मिक महत्व भएका स्थलहरूको प्रचारप्रसार गर्दै पर्यटन व्यवसायमा लगानी भित्र्याउने अवसरहरू सिर्जना गरिने आयोजकले बताएका छन् । यसका लागि लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पासँग सहकार्य गरिएको छ ।
सांस्कृतिक गतिविधिहरू महोत्सवको अर्को आकर्षणको रूपमा रहेको छ । स्थानीय कला, संस्कृति तथा मनोरञ्जनलाई प्रवर्द्धन गर्न खुला विद्यालय स्तरीय नृत्य तथा गायन प्रतियोगिता, तानसेन डान्स आइडल २०८१/८२, झाँकी प्रतियोगिता लगायतका कार्यक्रमहरू राखिने छन् । झाँकी प्रतियोगितामा सहभागी उत्कृष्ट समूहलाई ५० हजार रुपैयाँको पुरस्कार प्रदान गरिने तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जालीले बताउनुभयो । महोत्सवकै मुख्य आकर्षण मानिएको तानसेन डान्स आइडल प्रतियोगितामा प्रथम हुनेलाई ४५ हजार ५ सय ५५ रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार ५ सय ५५ रुपैयाँ तथा तेस्रो हुनेलाई २० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने उहाले बताउनुभयो । त्यस्तै विद्यालय स्तरीय नृत्य प्रतियोगितामा १५ हजार ५ सय ५५ रुपैयाँ प्रथम, १० हजार ५ सय ५५ रुपैयाँ दोस्रो तथा ५ हजार ५ सय ५५ रुपैयाँ तेस्रो पुरस्कार पाउने बताउनुभयो ।
महोत्सवमा लगानीका अवसर पहिचान गर्ने तथा लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन गर्ने कार्यक्रमहरू समेत समावेश गरिएको छ । महाेत्सवमा ३०० वटा स्टल रहनेछन । कृषि तथा पशुपालनसम्बन्धी विभिन्न उत्पादन, हस्तकला, हस्तनिर्मित सामानहरू, शैक्षिक सामग्री, स्वास्थ्य र पर्यटनसम्बन्धी स्टलहरूका लागि ३० वटा स्टल निशुल्क उपलब्ध गराइने अायाेजकले जनाएका छन । आयोजकहरूले महोत्सवमा ५ लाखभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको बताउनु भएको छ । महोत्सव अवलोकन गर्नका लागि साधारण टिकट ७५ रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
नगर प्रमुख एवं महोत्सव मूल आयोजक समिति संयोजक सन्तोषलाल श्रेष्ठले महोत्सव पर्यटन, कृषि,उद्योग र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयाे । महोत्सवलाई सफल बनाउन स्थानीय सरकार, निजी क्षेत्र, संघ–संस्था तथा सम्पूर्ण नगरवासीको सहकार्य आवश्यक रहेको उहाको भनाइ छ । स्थानीय उत्पादन तथा व्यापार विस्तारसँगै तानसेन नगरपालिकाको आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने उद्देश्यले आयोजना गर्न लागिएको यो महोत्सवलाई भव्य बनाउन आयोजकले सबै क्षेत्रको सहकार्य र सहभागिता आवश्यक बताउनुभयो ।








































Comments